
पोखरा । दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड, पोखराको १५औं वार्षिक साधारण सभा सोमबार नेपाल ठकुरी संगम परिवार कास्कीको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष ०८१र०८२ को लेखापरिक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, संस्थाको वित्तीय गतिविधिमा सकारात्मक प्रगति भएको भन्दै सदस्यहरूले कार्यसमितिको प्रयासप्रति प्रसंशा व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै सहकारीका जेष्ठ शेयर सदस्य पदम बहादुर सिंहले संस्थालाई गौरवपूर्ण र जिम्मेवार सहकारी बनाउने दिशामा सबै सदस्यहरू लाग्नुपर्ने धारणा राखे। उनले भने, “सहकारी राष्ट्रको आर्थिक मेरुदण्ड हो। सन्चित कोष बढाएर संस्थालाई सक्षम बनाउनु अहिलेको आवश्यकता हो।”
ठकुरी महासंघका केन्द्रीय अध्यक्ष तथा दर्शन सहकारीका संस्थापक अध्यक्ष खिम बहादुर शाहीले सहकारीको स्थापना समुदायमा छरिएको पुँजीलाई एकीकृत गरी आर्थिक जागरण ल्याउने उद्देश्यले गरिएको बताए। उनले सहकारीको भूमिका देशको आर्थिक विकासमा निर्णायक हुने धारणा राखे।
ठकुरी संगम परिवार कास्कीका अध्यक्ष याम बहादुर हमालले देशभरका केही सहकारीहरूले नियतवश अनियमितता गरेकाले विश्वासिलो सहकारी छान्ने जिम्मेवारी स्वयं सदस्यकै भएको उल्लेख गरे। उनले भने, “आफ्नो संस्थाको गतिविधिबारे जानकारी राखेर मात्रै कारोवार गर्नु आजको आवश्यकता हो।”
उत्कृष्ट विद्यार्थी र जेष्ठ सदस्यहरू सम्मानित
कार्यक्रममा सहकारीका शेयर सदस्यका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू युसिव हमाल, राज सेन, मनिका सिंह, काजल खाण, र जेनिश मल्ललाई सम्मान गरिएको थियो। त्यसैगरी, जेष्ठ शेयर सदस्य लक्ष्मण सिंह, नेत्र बहादुर शाही, र असल सहकारी अभ्यासकर्ता शोभा कुमारी मल्ल, सीता शाही, र सम्झना हमाललाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।
संस्थाका अध्यक्ष राजाराम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मण मल्लले स्वागत मन्तव्य राखेका थिए भने सचिव ज्योती हमालले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रममा संस्थाका शेयर सदस्य, पदाधिकारी, स्थानीय समाजसेवी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
