
पोखरा। जेन्जी आन्दोलनका क्रममा आगलागीबाट क्षति भएका कास्कीका विभिन्न पाँच स्थानमा युनाइटेड क्लबले कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ। जनता सँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की, र पोखरा महानगरका वडा नं १०, १२ र १५ का वडा कार्यालयहरूलाई युनाइटेड क्लबले विपद व्यवस्थापन कोषअन्तर्गत कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो।
पोखरा महोत्सवको आयोजना गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा सक्रिय रहेको युनाइटेड क्लबले तिहारको अवसरमा आयोजना हुने देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट स्थापित विपद व्यवस्थापन कोषअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो।
जेन्जी आन्दोलनले निम्त्याएको संकटको समयमा युनाइटेड क्लबले विभिन्न सरकारी कार्यालयहरूलाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर प्रदान गरेकोमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले क्लबलाई धन्यवाद व्यक्त गर्दै संकटको समयमा सबैले मिलेर सामना गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताइन्।
त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले सामाजिक कार्यमा छुट्टै पहिचान बनाएको युनाइटेड क्लबलाई संकटको समयमा वडालाई आवश्यक पर्ने सामाग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे। उनले भने, “वडा नं १५ का सम्पूर्ण सामाग्रीहरू जेन्जी आन्दोलनको क्रममा आगलागीबाट नष्ट भएका कारण जनताको दैनिक कामकाजमा प्रत्यक्ष असर परेको थियो। युनाइटेड क्लबले कम्प्युटर र प्रिन्टर प्रदान गरेर वडाको दैनिकी कामकाजमा सहयोग पुर्याएको छ।”
युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले भने, “युनाइटेड क्लबले जेन्जी आन्दोलनको बेला सानो भएतापनि सहयोग गर्ने उद्देश्यले सरकारी कार्यालय र वडा कार्यालयहरूलाई आवश्यक कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो।” उनका अनुसार पोखरा महानगरका वडा नं १०, १२ र १५ का साथै जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई पनि कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको हो।
युनाइटेड क्लबले विपद व्यवस्थापन कोषअन्तर्गत पूर्वको उदयपुरदेखि पश्चिमको कैलालीसम्म विभिन्न विपदमा परेकाहरूलाई सहयोग गर्दै आएको छ। गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगलागीबाट पोखरा महानगरका सरकारी तथा निजी सम्पत्तिहरू पूर्ण रूपमा क्षति पुगेका थिए। यसै बीच, क्लबका द्वितीय उपाध्यक्ष र विपद व्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाँले कास्कीका विभिन्न पाँचवटा कार्यालयमा सहयोग प्रदान गरिएको जानकारी दिए।
