
पोखरा। पामे बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मानित गरिएको छ। सहकारीका सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने ४ जना विद्यार्थी, पिएचडी गर्ने २ जना, र समाजमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिएको हो।
सहकारीका जेष्ठ सदस्य बाटुली पाध्यनी, सहकारीका अध्यक्ष नवराज पराजुली, पूर्व अध्यक्ष महेश्वर दवाडी, अग्निधर त्रिपाठी लगायतका प्रमुख व्यक्तिहरूले सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरेका छन्। यस अवसरमा सबैभन्दा बढी उमेर पुगेका वृद्धवृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, र उत्कृष्ट बचतकर्ता पनि सम्मानित भएका थिए।
कार्यक्रममा सहकारीका निर्वतमान अध्यक्ष अग्निधर त्रिपाठीले सहकारीलाई अझ बलियो बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए। पूर्व अध्यक्ष महेश्वर दवाडीले सहकारीलाई राम्रो बनाउन समिति मात्र तत्पर नहुनुपर्ने, सबै सदस्यहरूको सक्रिय सहभागिता पनि आवश्यक रहेको उल्लेख गरे। उनले सहकारीको समृद्धिका लागि संचित कोषलाई थप सुदृढ बनाउनु पर्ने कुरा पनि जोड दिए।
कार्यक्रममा सल्लाहकार ओम सुबेदी, डिल्लीराम भट्टराई, ऋण तथा धितो मूल्याङ्कन समिति संयोजक खिमनाथ शर्मा, शिक्षा उपसमिति संयोजक घनश्याम अधिकारी, महिला उपसमिति संयोजक दुर्गा तिमिल्सिना, संस्थापक सदस्य मिनराज खड्का, र शेयर सदस्य घनश्याम पराजुली लगायतका व्यक्तिहरूले सहकारीले गाउँगाउँमा वित्तीय साक्षरता फैलाउन महत्वपूर्ण भूमिका निभाएको बताए।
पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज पराजुलीले सहकारीले विभिन्न ग्राहक योजनाहरू ल्याएर घरघरसम्म पुगेको कार्यको चर्चा गरे। उनले बाल खुत्रुके बचत योजना, दैनिक बचत खाता, पामे सुपर सेभिङ्ग, नारी बचत खाता, र विद्यार्थी बचत खाता सञ्चालन गरेको जानकारी दिए। उनले संस्थाले अबसम्म गरेका सवल पक्ष र सुधारात्मक पक्षको विश्लेषण गर्दै आगामी मार्गमा अघि बढ्ने योजना व्यक्त गरे।
साधारण सभाले कोषाध्यक्ष लेखनाथ पराजुलीको कोषाध्यक्षको प्रतिवेदन र सचिब शालिकराम लामिछानेको सचिबको प्रतिवेदन पनि पारित गरेको छ।
पामे बचत तथा ऋण सहकारी संस्थामा १,१०० जना शेयर सदस्य छन्, संस्थाको अधिकृत पुँजी १५ करोड र चुक्ता पुँजी १० करोड १० लाख रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा १८ करोड ३० लाख निक्षेप संकलन गरी २७ करोड ५६ लाख कर्जा प्रवाह गरिएको छ।
