
पोखरा। जनजी आन्दोलनका क्रममा कास्की कारागार र बाल सुधार गृहमा आक्रमण भएपछि भागेका कैदीबन्दी र बालबालिकामध्ये केही स्वेच्छाले फर्किन थालेका छन्। कास्की कारागार प्रशासनले दिएको पछिल्लो विवरण अनुसार ७७३ जना कैदीबन्दीमध्ये हालसम्म ४१३ जना फर्किएका छन् भने अझै ३६० जना फरार रहेका छन्। आन्दोलनका क्रममा तोडफोड र भागदौड भएपछि उनीहरू कारागारबाट बाहिरिएका थिए।
कारागार प्रमुख राजेन्द्र शर्माले कैदीबन्दीहरू आन्दोलनकारीको आक्रमणपछि सुरक्षाका लागि बाहिरिएको बताउँदै भने, “अहिले अवस्था सामान्य बन्दै गएको छ, त्यसैले कैदीबन्दीलाई स्वेच्छाले फर्किन आग्रह गरिएको छ। त्यसका लागि प्रहरीले खोजी कार्य पनि तीव्र बनाएको छ।”
उनका अनुसार आन्दोलनअघि कास्की कारागारमा ७७३ जना कैदीबन्दी थिए। तीमध्ये ३५ जना महिला र ७३८ जना पुरुष थिए। आन्दोलनकारीले तोडफोड गरेपछि कैदीहरू एकैपटक बाहिरिएका थिए।
कारागार प्रशासनले अझै सम्पर्कमा नआएका कैदीबन्दीहरूको खोजी प्रहरीमार्फत जारी राखेको छ। “फर्कन नआएकाहरूका हकमा कानुनी कारबाही पनि हुन सक्छ,” प्रमुख शर्माले चेतावनी दिए।
बाल सुधार गृहबाट १०९ मध्ये ४९ बालक फर्किए
पोखरा–१९, ग्यारजातीस्थित बाल सुधार गृहबाट भागेका १०९ बालकमध्ये मंगलबारसम्म ४९ जना मात्रै फर्किएका छन्। सुधार गृह प्रमुख डासी पौडेलका अनुसार आन्दोलनकारीहरूले गेट र झ्यालढोका तोडफोड गरेपछि बालकहरू भागेका थिए।
“प्रदर्शनकारीले गेट तोड्न थालेपछि बालबालिकाले भागेका हुन्,” पौडेलले जानकारी दिए, “हालसम्म ४९ जना फर्किएका छन् भने बाँकीको खोजी भइरहेको छ।”
जनजीवन सामान्य बन्दै, सुरक्षा व्यवस्थामा कडाइ
आन्दोलनका कारण अस्तव्यस्त बनेको पोखराको जनजीवन अहिले सामान्य हुँदै गएको छ। बजार, पसल, यातायातलगायत सेवा पुनः सञ्चालनमा आएका छन् भने सुरक्षा निकायले संवेदनशील क्षेत्रमा निगरानी बढाएको छ।
कारागार र बाल सुधार गृह वरिपरि सुरक्षा कडा पारिएको छ। अझै ३६० जना कैदी र ६० भन्दा बढी बालबालिका फरार रहेका कारण सुरक्षाका लागि उच्च सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।
अधिकारहरूका अनुसार फरार कैदीबन्दी र बालबालिकालाई मनोवैज्ञानिक र कानुनी दुवै माध्यम प्रयोग गरेर स्वेच्छाले फर्काउने पहल भइरहेको छ। “अहिले सुरक्षित पुनःस्थापना हाम्रो पहिलो प्राथमिकता हो,” प्रमुख शर्माले बताए, “फर्केका कैदीलाई नियमित बसोबासमा राखिएको छ भने बाँकीलाई फिर्ता गराउन सबै तहमा प्रयास भइरहेको छ।”
