नेपालले ऐतिहासिक सिरिज जित्यो, वेस्ट इन्डिजलाई ९० रनले हराउँदै युनिटी कप कब्जा

Share:

काठमाडौं : युएईको शारजाहमा जारी युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै एक खेल अगावै सिरिज जितेको छ। यो नेपालले टेस्ट राष्ट्रविरुद्ध जितेको पहिलो टी–२० सिरिज उपाधि हो, जसले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थपेको छ।

शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो। जवाफमा वेस्ट इन्डिज १७.१ ओभरमै जम्मा ८३ रनमा समेटियो।

नेपालको जितमा बलर आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिँदै प्रमुख योगदान दिए। नियमित बलर नन्दन यादव घाइते भएपछि दोस्रो खेलमा मौका पाएका आदिलले प्रतिबन्धपछि पुनरागमन खेलमै उत्कृष्ट प्रदर्शन गरे।

कुशल भुर्तेलले पनि एक मेडन ओभरसहित १६ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशी, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले १५ बलमा २ छक्कासहित सर्वाधिक २१ रन बनाए। तर अन्य ब्याटर नेपाली बलरसामु टिक्न सकेनन्। ओपनर जेवल एन्ड्रयु २, कायल मेयर्स ६, केसी कार्टी १, एकिम अगष्ट १७, र अमिर जांगो १६ रनमै आउट भए।

नेपालको पारीको सुरुवात भने केही संघर्षपूर्ण थियो। ३.३ ओभरमा मात्र १४ रनमा २ विकेट गुमाएको नेपाललाई सन्दीप जोरा र आसिफ शेखले सम्हाले। चौथो विकेटका लागि दुबै ब्याट्सम्यानले १०० रनको साझेदारी गर्दै बलियो आधार तयार गरे।

ओपनर आसिफ शेखले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए। सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रनको विष्फोटक पारी खेले।

अन्य ब्याट्सम्यानमध्ये आदिल अन्सारीले ५ बलमा ११ रन (१ चौका, १ छक्का) र गुल्शन झाले ६ रन बनाए। वेस्ट इन्डिजका अकिल हुसेन र कायल मेयर्सले समान २–२ विकेट लिए।

सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो। यससँगै नेपालले दुई खेल जित्दै तीन खेलको टी–२० सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको हो।

अब यो सिरिजको अन्तिम तथा तेस्रो खेल आज राति हुनेछ। त्यो खेल नेपालको लागि ‘क्लिन स्विप’ गर्ने अवसर हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: