
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाका लागि नयाँ शान्ति योजनामा सहमति जनाएका छन्। उक्त योजनालाई व्यवहारमा ल्याउन हमासमाथि दबाब दिइएको छ।
शान्ति योजनाअनुसार गाजामा जारी सैन्य कारबाही तत्काल रोक्ने प्रस्ताव गरिएको छ। योजना अनुसार, हमासले हिरासतमा रहेका सयौं गाजावासीको बदलामा जीवित रहेका २० जना इजरायली बन्धक रिहा गर्नुपर्नेछ। साथै, मृत मानिएका दुई दर्जनभन्दा बढी इजरायली बन्धकको अवशेष पनि ७२ घण्टाभित्र उपलब्ध गराउनुपर्नेछ।
बीबीसीलाई एक प्यालेस्टाइनी स्रोतले जानकारी दिएअनुसार, ह्वाइट हाउसले हमासलाई २० बुँदे प्रस्ताव दोहामा हस्तान्तरण गरिसकेको छ। कतार र इजिप्टले यस वार्तामा मध्यस्थकर्ताको भूमिका खेलेका छन्।
प्रस्तावमा गाजाको भविष्य शासनमा हमासको कुनै भूमिका नहुने उल्लेख छ। साथै, प्यालेस्टाइनी राज्य स्थापनाको सम्भावनालाई खुला राखिएको छ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यो योजना “शान्तिका निम्ति ऐतिहासिक कदम” भएको बताए। उनले हमासले प्रस्ताव अस्वीकार गरेमा नेतान्याहूले जे निर्णय गरे पनि अमेरिकाले समर्थन गर्ने स्पष्ट पारे।
इजरायली प्रधानमन्त्री नेतान्याहूले पनि योजना अस्वीकार भएमा इजरायलले “आवश्यक कदम चाल्ने” चेतावनी दिएका छन्।
