
सुनसरी : लगातारको वर्षाका कारण सप्तकोशी नदीको जलवहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएका छन्। जलस्तर बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार शुक्रबार र शनिबारदेखिको अविरल वर्षाका कारण नदीमा पानीको बहाव तीव्र भएको हो। उनका अनुसार आज बिहान ८:१५ बजे कोशी ब्यारेजमा गरिएको जलमापनमा पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो। पछि जलवहाव अझै बढेपछि सबै ५६ ढोका खोलिएको हो।
“नदीमा निरन्तर जलमापन भइरहेको छ,” प्रजिअ मिश्रले भने, “स्थिति अझै अनिश्चित हुनसक्ने भएकाले तटीय बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।”
