
पोखरा । व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार भन्ने मूल नाराका साथ पोखरामा प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गतको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलको सहकार्यमा संचालन भएको पाँच दिने तालिम विहीबारदेखि औपचारिक रूपमा शुभारम्भ भएको हो।
तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले प्रतिष्ठानले २०७५ सालदेखि नै संघीय स्तरको तालिम प्रवाह गर्दै आएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गरी समुदायसम्म पुर्याउनुपर्नेमा जोड दिए।
उनले भने, “तालिम केवल कक्षाभित्र सीमित हुनु हुँदैन, यसको प्रभाव गाउँगाउँसम्म देखिनु आवश्यक छ।”
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विनोदकुमार विष्टको नेतृत्वमा तालिम सहजीकरण भइरहेको छ। सहभागीहरूलाई प्रशिक्षण आवश्यकता मूल्याङ्कन, पाठ्यक्रम विकास, सत्र योजना, प्रस्तुतीकरण सीप, सहभागितामूलक सिकाइ विधि, र प्रशिक्षण व्यवस्थापन जस्ता विषयमा गहिरो जानकारी प्रदान गरिँदैछ।
तालिममा गण्डकी प्रदेशका विभिन्न निकायका ३२ जना प्रतिनिधिहरू सहभागी छन्, जसले भविष्यमा तालिम दिने प्रशिक्षकको रूपमा भूमिका निर्वाह गर्नेछन्।
स्थानीय क्षमता विकासमा जोड
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। तालिम संयोजक एवम् निर्देशक लक्ष्मण तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रदेश सरकार मातहतको एकीकृत स्टाफ कलेजको रूपमा कार्यरत छ। यसले प्रदेश र स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा नियुक्त पदाधिकारीहरूको दक्षता अभिवृद्धिका लागि निरन्तर प्रयास गरिरहेको छ।
तालिम असोज २३ देखि २७ गतेसम्म सञ्चालन हुनेछ, जसले सहभागीहरूलाई व्यवहारिक सीप अभिवृद्धि गर्दै गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
