
पोखरा। पोखरा महानगरपालिका वडा नं. २९ अन्तर्गत रहेको नौविसे ओख्लेडाँडा टोल विकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि पुनः ठाकुरप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा ठाकुरप्रसाद घिमिरे, उपाध्यक्षमा महेन्द्रप्रसाद सुवेदी, सचिवमा दुर्गादेवी अधिकारी, तथा कोषाध्यक्षमा ध्रुवराज पौडेल सर्वसम्मत रूपमा चयन भएका छन्। सदस्यहरूमा रामबहादुर जिसी, कृष्णबहादुर थापा, मसिना कुमाल, मिना सुवेदी, मन्त्रीराज उलक शिवराज अधिकारी तथा सोमबहादुर थापा
सर्वसम्मत रूपमा चयन भएका छन्। यस्तै, संयोजकमा विष्णुप्रसाद लामिछाने चयन भएका हुन्।
निर्वाचन संयोजक अजुन ओझाले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै, टोल विकास संस्थाले आफ्नो क्षेत्रको समुन्नत विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक रहेकोमा जोड दिए। अध्यक्ष ठाकुरप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, सचिव, कोषाध्यक्ष र लेखा उपसमितिका प्रतिवेदनहरू प्रस्तुत गरिएर सर्वसम्मत रूपमा पारित गरिएको थियो। अध्यक्ष घिमिरेले भावी योजनाहरू प्रस्तुत गर्दै समुदायको सहकार्य र सहभागितालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा-२९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले, स्थानीयको सक्रिय सहभागिता बिना कुनै पनि विकास सम्भव नभएको धारणा व्यक्त गरे। उनले नौविसे ओख्लेडाँडा टोल विकास संस्थालाई ८८ वडाभरिका टोल संस्थाहरूका लागि ‘नमूना संस्था’८८ को रूपमा प्रस्तुत गरे। साथै, उनले विषादीरहित कृषि उत्पादनमा ध्यान दिनुपर्नेमा विशेष जोड दिए।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, वडा सदस्य कालीदास पोखरेल लगायत विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए।
२३८ घरधुरी आवद्ध संस्था
उक्त अवसरमा ८० वर्ष उमेर नाघेका ४ जना ज्येष्ठ सदस्य, टोलबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने २ जना, उत्कृष्ट कृषक सुरज तिवारी, तथा लेखनाथ उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित टोलवासी सुजनबाबु न्यौपानेलाई सम्मान गरिएको थियो।
संस्थामा हाल २३८ घरधुरी सदस्य आवद्ध रहेका छन्, जसको समुचित सहभागिता र सहयोगमा टोलको भौतिक, सामाजिक र आर्थिक विकासका कार्यक्रमहरू निरन्तर अगाडि बढाइँदै आएको अध्यक्ष घिमिरेले बताए।
