आगजनीबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले पुनः सेवा सञ्चालन सुरु गर्‍यो

Share:

पोखरा । गत महिनाको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडको चपेटामा परेका मालपोत कार्यालय कास्कीले सेवा पुनः सुरु गरेको छ। कार्यालयले बिहीबारदेखि अत्यावश्यकसहितका नियमित सेवा सञ्चालनमा ल्याएको हो।

मालपोत अधिकृत शोभाखर पोख्रेलका अनुसार कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भए पनि हाललाई प्रतिक्षालय बाट सेवा दिन थालिएको छ। “हाल अत्यावश्यक सेवा भनिए पनि हामीले सेवाग्राहीलाई सम्भव भएसम्म सबै सेवा दिने प्रयास गरिरहेका छौँ,” पोख्रेलले भने।

८० प्रतिशत कागजात नष्ट

प्रदर्शनका क्रममा लागेको आगोले कार्यालयका झण्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएको छ। अधिकृत पोख्रेलका अनुसार, पोखरा महानगरपालिका-११, १२, १३ र हेम्जाका केही कागजातहरू मात्रै जोगिएका छन्, भने अन्य अधिकांश वडाका अभिलेख जलेर नष्ट भएका छन्।

यो अवस्थाले सेवा प्रवाहमा केही समयसम्म चुनौती रहने देखिएको छ। तथापि, कार्यालयले बाँकी रहेका कागजातको संरक्षण गर्दै, डिजिटल रेकर्डको सहायताबाट सेवा सहज बनाउन प्रयासरत रहेको जनाएको छ।

सेवाग्राहीलाई संयमता अपनाउन आग्रह

मालपोत कार्यालय कास्कीले सेवाग्राहीलाई संयमता र धैर्यताका साथ सेवा लिन आग्रह गर्दै, आफूसँग उपलब्ध विवरणको आधारमा आवश्यक प्रक्रिया अगाडि बढाइने स्पष्ट पारेको छ।

कमेन्ट गर्नुहोस्
Share: