पोखरा-मुग्लिन सडक आयोजनाको सौन्दर्यीकरण र समस्या समाधानबारे पोखरा महानगरसँग परामर्श

Share:

पोखरा । निर्माणाधीन पोखरा-मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पोखरा खण्डको सडक सौन्दर्यीकरण, वृक्षारोपण र स्थानीय समस्याहरू समाधानका विषयमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग आयोजना पक्षले छलफल गरेको छ।

छलफलका क्रममा आयोजनाका प्रोजेक्ट म्यानेजर कृष्ण बहादुर कुवँरले अहिलेसम्मको कामको प्रगतिबारे नगर प्रमुखलाई जानकारी गराउँदै, सडक विस्तारसँगै हुने फुटपाथ व्यवस्थापन, सडक बत्ती जडान र वृक्षारोपण लगायतका पहलहरूबारे विवरण प्रस्तुत गरेका थिए।

‘निर्धारित समयमा निर्माण कार्य सक्नुस्’- मेयर आचार्य

सडक निर्माण कार्यमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै नगर प्रमुख धनराज आचार्यले आयोजनालाई तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्।

उनले भने, “पोखरा मात्र होइन, गण्डकी प्रदेशकै लाइफलाइन मानिएको यो सडक आयोजनामा ढिलाइ हुँदा जनजीवन र आवागमनमा प्रत्यक्ष असर परेको छ। अब ढिलाइ स्वीकार्य छैन।” आयोजना व्यवस्थापक कुवँरले बाँकी काम समयमै सम्पन्न गर्न आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको जानकारी दिँदै, स्थानीय रूपमा देखिएका समस्याहरू समाधानमा महानगरसँग समन्वयको आवश्यकता रहेको बताए।

उनले नगरपालिकाको सहयोगबिना कार्य सम्पन्न कठिन हुने भन्दै समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। सडकको शारीरिक संरचना निर्माणसँगै यसलाई सुव्यवस्थित र सौन्दर्यपूर्ण बनाउने उद्देश्यले वृक्षारोपण, लाइट जडान र फुटपाथ व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखिएको छ। परियोजनाले पोखरा खण्डलाई पर्यटकीय दृष्टिले आकर्षक बनाउने गरी काम अघि बढाइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: