
पोखरा । पोखरा महानगरपालिकाले सरोकारवालाहरूसँगको छलफल पश्चात् तिहारको समयमा अत्यधिक माग हुने स्थानीय सयपत्री फुलको बिक्रिमूल्य तोकेको छ । महानगर क्षेत्रमा क्रियाशील कृषि सञ्जालहरू, पोखरा उद्योग वाणिज्य सङ्घ, फ्यान कास्की, कृषि ज्ञान केन्द्र कास्की लयागतसँगको छलफल पश्चात् स्थानीय सयपत्री फूलको विक्री मूल्य र विक्री स्थलसमेत तोकेको महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए।
उनका अनुसार सयपत्री फूलमा आत्मनिर्भर रहेको पोखराका विभिन्न स्थानहरूमा उत्पादन भएका सयपत्री फुलहरूको ग्रेडिङ गरी ‘ए’, ‘बि’ र ‘सी’ फूलको आकार अनुसार मूल्य तोकिएको हो । ‘ए’ ग्रेड १५ देखि २० ग्राम प्रति थुङ्गा फूलको मूल्य ५ रुपैयाँ, प्रति माला १५० रुपैयाँ र प्रतिकेजी ३०० देखि ४०० रुपैयाँ तोकिएको छ । यस्तै ‘बि’ ग्रेड १० देखि १५ ग्राम प्रति थुङ्गा फूलको मूल्य ४ रुपैयाँप्रति माला १३० रुपैयाँ र ‘सी’ ग्रेड ५ देखि १० ग्राम प्रति थुङ्गा फूलको मूल्य २ रुपैयाँ, प्रति माला १०० रुपैयाँ तोकिएको कडरियाले बताए ।
उनका अनुसार पोखरा महानगरपालिकाका करिब २५ बढी स्थानहरूमा स्थानीय सयपत्री फूलको विक्री स्थल पनि तोकिएको छ । तोकिएका स्थानहरूबाट यही कात्तिक ३,४ र ५ गते सयपत्री फूलहरू खरिद गर्न सकिने छ । पोखरा महानगरपालिकाको सहयोगमा करिब ३ सय रोपनीमा सयपत्री फूल खेती भइरहेको छ ।
यस वर्ष ३ लाख माला उत्पादन हुने र करिब ३ देखी ४ करोडको कारोबार हुने अनुमान गरिएको छ । विगत ३ वर्ष देखि निरन्तर बीउमा अनुदान तथा बजारीकरणमा सहजीकरण गर्दै आएको पोखरा महानगरपालिकाले कृषकहरूलाई न्यूनतम समर्थनमूल्य समेत प्रदान गर्दै आइरहेको छ ।
नगर प्रमुख धनराज आचार्यले स्थानीय सयपत्री फूलमा पोखरा महानगरपालिका आत्मनिर्भर भइसकेकाले प्लास्टिकका फूलमालाहरु विक्री वितरण नगर्न अनुरोध गरे । नगर क्षेत्रमा नै उत्पादन भएको स्थानीय सयपत्री फूलले नै यस वर्षको दीपावली मनाउन उनले आग्रह गरेका हुन् । कृषकहरूको मनोबल उच्च बनाउनका लागि मल, बिउ, उत्पादनको बजारीकरण र समर्थनमूल्यमा समेत सहयोग गर्दै आइरहेको उनले बताए।

