लेखनाथमा व्यवसाय संवद्र्धन केन्द्र सम्बन्धी अभिमुखीकरण सम्पन्न

Share:

पोखरा । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान त्रिपुरेश्वरको आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र लेखनाथ उद्योग वाणिज्य संघको सहकार्यमा बिहीवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा गण्डकीस्तरीय व्यवसाय संवद्र्धन केन्द्र स्थापना तथा सञ्चालन र स्टार्टअप कर्जा प्रवाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

प्रमुख अतिथि उद्योग तथा पर्यटन सचिव इन्द्रप्रसाद बस्यालले कार्यक्रममा बोल्दै उद्योग सेक्टरलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सरकारले स्टार्टअप विजनेस र बजेट कार्यक्रम ल्याएको, नयाँ उद्यमीहरुलाई प्रोत्साहनका लागि श्रोतसहित तालिमको व्यवस्थापन भएको र सोहि अन्तर्गत आज अभिमुखिकरण तालिमको आयोजना भएकोमा खुशी व्यक्त गरेका थिए।

सचिव बस्यालले गण्डकी प्रदेश सरकारले भर्खरै मात्र घरेलु मदिराको ऐन पारित भएको बताउँदै त्यसको नियमावली तयारीमा आफुहरु लागेको बताएका थिए। स्थानीय कच्चा पदार्थको अभियान चलाउनुपर्ने, चामल बाहेक अन्य सवै खाद्यान्न पदार्थ, फलफुलबाट घरेलु मदिरा बनाउन सकिने बताउँदै कोदोको तिनपानेलाई ब्राण्डको रुपमा विकास गरि राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा लैजाने कुरा बताएका थिए।

त्यसैगरी यस प्रदेशमा धेरै खानीहरु रहेको र प्रदेशको अग्रसरतामा खानीको अध्ययन गरि औद्योगिकरण गर्ने बताएका थिए। औद्योगिकरणमा वितगमा भन्दा धेरै कमी आएकाले यसको सुरक्षा, कानुन, नियम, ऐनलाई सहजीकरण गर्दै उद्योगधन्दा बढाउन प्रदेशको विशेष पहल रहने बताए । त्यसैगरी पोखरा ३३ पुडिटारमा बन्ने भनिएको औद्योगिक क्षेत्र र नवपुरमा बनाउने औद्योगिक क्षेत्रको निर्माणमा सवैले ध्यान तथा पहल जानुपर्ने उल्लेख गरेका थिए।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश कुमार गुप्ताको अध्यक्षतामा आयोजना भएको कार्यशाला गोष्ठिमा निर्देशक गुप्ताले स्टार्टअप उद्यम कर्जा प्रवाह सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आ.व २०८२÷८३ का लागि अब छिट्टै स्टार्टअप कर्जा अनलाईन खुल्ने हुदा स्वम् उद्योगी व्यवसायीहरुले अनलाईनमार्फत वा केन्द्रिय कार्यालयमा आई निवेदन दिन सकिने बताएका थिए भने कार्यपत्र र स्टार्टअप कर्जा सम्बन्धी सहभागीहरुबाट आएका जिज्ञासा माथि प्रस्ट पारेका थिए।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले स्वागत मन्तव्य राख्दै यस अभिमुखीकरण कार्यक्रमले यस क्षेत्रमा उद्यमशिलता र स्टाटअप कर्जाका लागि सहजीकरण हुने बताएको उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष एवं कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले नव उद्यमीहरुका लागि स्टार्टअप कर्जाले प्रोत्साहन र थप उर्जा प्रदान गरेको बताएका थिए।

उक्त कार्यक्रममा स्टार्टअप उद्यम कर्जा प्राप्त गरेका उद्यमी दिप आईसक्रिमका सञ्चालक पम्फा देवकोटा, पोख्रेल गार्मेन्ट्स प्रा.लि.का संचालक भोलानाथ पोख्रेल र मादी हिमालयन अलैची कृषि फर्म प्रा.लि.का सरेन्द्रजंग क्षेत्रीले आफ्नो अनुभव आदान प्रदान साटासाट गरेका थिए।

लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतराज ओझाले सञ्चालन गरेको सो कार्यक्रममा महिला उद्यमी महासंघ गण्डकी प्रदेशका अध्यक्ष पार्वती पौडेल रेग्मीले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: