
पोखरा। नेपालीहरुको मौलिक पर्व तिहार नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभरका नागरिकलाई संस्कृति, मर्यादा र सामाजिक सद्भाव कायम राख्दै पर्व मनाउन अपिल गरेको छ। प्रशासनले तिहारको मुख्य आकर्षण देउसी-भैलोलाई राति १० बजेसम्म मात्र बजाउन अनुमति दिएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संस्कृति र शान्ति सुरक्षाको सन्तुलन मिलाउँदै यो निर्णय गरिएको जानकारी दिइन्।
“देउसी-भैलो नेपाली संस्कृतिको पहिचान हो। यसलाई मर्यादित र व्यवस्थित रूपमा खेल्न आग्रह गर्दछौं,” प्रमुख जिल्ला अधिकारी शर्माले भनिन्।
संस्कृति संरक्षणमा सामूहिक जिम्मेवारी
शर्माले सबै नागरिकलाई चाडपर्वहरूलाई स्नेह, सहिष्णुता र सामाजिक एकता झल्किने गरी मनाउन आग्रह गरेकी छन्। उनले तिहार, नेपाल संवत्, छठ लगायत पर्वहरूको अवसरमा कास्कीबासीलाई शुभकामना दिंदै भनिन्, “हाम्रा पर्वहरूले सामाजिक सहअस्तित्व र सांस्कृतिक एकताको सन्देश दिन्छन्। शान्ति सुरक्षा कायम राख्दै चाडपर्व मनाऔं।”
प्रशासनले चाडपर्वको समयमा सार्वजनिक शान्ति भंग गर्ने वा गैरकानुनी कार्यहरूमा संलग्न हुनेहरूलाई कडा कारबाही गरिने चेतावनी दिएको छ। शंकास्पद गतिविधि देखेमा तुरुन्त नजिकको प्रहरी चौकी वा प्रशासन कार्यालयमा जानकारी दिन नागरिकलाई आग्रह गरिएको छ।
पटका र आतिशबाजीमा पूर्ण प्रतिबन्ध
यस वर्ष पनि तिहारमा पटका, आतिशबाजी र विस्फोटक पदार्थमा पूर्ण प्रतिबन्ध लगाइएको छ। यस्ता क्रियाकलापले जनधनको क्षति र दुर्घटनाको जोखिम बढाउने भएकाले निगरानी कडा पारिने प्रशासनले जनाएको छ।
विस्फोटक वस्तुको ओसारपसार वा प्रयोग गरे कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ। चाडपर्वको बेला कालोबजारी र कृत्रिम अभाव हुन नदिन प्रशासनले बजार अनुगमन बढाउने निर्णय गरेको छ।
अत्यावश्यक वस्तुहरू खाद्यान्न, पेट्रोलियम पदार्थ, यातायात सेवा लगायतमा बढी मूल्य लिने वा अभाव सिर्जना गर्ने व्यापारीलाई कडा कारबाही गरिने बताइएको छ। त्यस्तै, होटल, रेस्टुरेन्ट, मेला-महोत्सव स्थलहरूले पनि सार्वजनिक शान्ति र सरसफाइ कायम गर्नुपर्ने जनाइएको छ।

