१४ औं पोखरा महोत्सव पुस २९ गतेदेखि माघ ११ सम्म, तयारी तीव्र गतिमा

Share:

पोखरा । सामाजिक क्षेत्रका विविध अभियान सञ्चालन गर्दै आएको युनाइटेड क्लब पोखराले आयोजना गर्ने १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुस २९ गतेदेखि माघ ११ गतेसम्म पोखराको अमरसिंहचौरमा भव्य रूपमा हुने भएको छ। युनाइटेड क्लबको १६ औं साधारण सभाले महोत्सवको मिति तय गर्दै यस वर्षको कार्यक्रमलाई अझ आकर्षक र प्रभावशाली बनाउने तयारी सुरु गरेको क्लबका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए।

सभामा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक सेवाको उद्देश्यका साथ पोखरा महोत्सवलाई निरन्तरता दिँदै आएको र यस वर्ष पनि सबैको साथ-सहयोग आवश्यक रहेको बताउँदै क्लबलाई राष्ट्रिय स्तरको उदाहरणीय संस्था बनाउने लक्ष्य दोहोर्याए। उनले क्लबले लेखनाथको अर्चलेमा आवासीय छात्रावास निर्माण तीव्र गतिमा अघि बढाएको र आगामी वर्षदेखि पाँच जना छात्रा राखी सेवा सुरु गर्ने योजना रहेको पनि बताए।

निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबको पहिचान नै सामाजिक काम भएको बताउँदै शिक्षा र छात्रावास परियोजना क्लबको दीर्घकालीन उद्देश्य भएको उल्लेख गरे। क्लबका परिकल्पनाकार आनन्द थापाले अमरसिंह क्षेत्रका युवाहरूको पहलमा स्थापित युनाइटेड क्लब आज राष्ट्रिय स्तरमा चिनिनु गौरवको विषय भएको बताए। उनका अनुसार क्लबले स्थापना कालका कठिन चुनौतीहरू पार गर्दै आजको स्थानमा पुग्न सफल भएको छ।

कार्यक्रममा अध्यक्ष थापा, महासचिव दिनेश सुनार, र कोषाध्यक्ष जयराम आचार्यले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए। सो अवसरमा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य दिएका थिए भने महासचिव सुनारले कार्यक्रम सञ्चालन गरेका थिए।

अध्यक्ष लोकबहादुर थापाले महोत्सवलाई “सभ्य, भव्य र समावेशी बनाउने” लक्ष्य राखिएको उल्लेख गर्दै सम्पूर्ण सदस्य, आजीवन सदस्य, पदाधिकारी तथा शुभेच्छुकहरूलाई सक्रिय सहभागिताको आह्वान गरे। उनका अनुसार पोखरा महोत्सवको आम्दानीबाट नै क्लबले विभिन्न सामाजिक, शैक्षिक र मानवसेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यस वर्ष पनि महोत्सवले पोखराको संस्कृति, पर्यटन र सामाजिक एकताको प्रतिविम्ब झल्काउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: