
पोखरा । कास्कीमा भएका आन्दोलनका क्रममा प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र हतियार लुटपाट प्रकरणमा संलग्न १० जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ २४ गते भएको घटनामा विभिन्न प्रहरी कार्यालयमा आगजनी, हातहतियार लुटपाट तथा सार्वजनिक आतंक फैलाउने कार्यमा संलग्न रहेको आरोपमा ती व्यक्तिहरु पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ४ जना जिल्ला प्रहरी कार्यालय कास्कीमा हतियार लुटपाट गरी हिँड्ने तथा आगोमा जलाउने कार्यमा, १ जना वडा प्रहरी कार्यालय बगरमा हतियारको थुप्रोमा आगो लगाउने कार्यमा र ५ जना प्रहरी चौकी नयाँपुलमा आगलागी गर्ने कार्यमा संलग्न रहेका थिए।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अपराधिक उपद्रवसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेहरुमा धादिङका वर्षीय २४ राजेश मक्रान्ती, पोखरा-४ का ५४ वर्षीय नारायण साई, पोखरा-११ का वर्षीय २२ अरुण विक, पोखरा-१ का वर्षीय ४१ रुपेश मगर, पोखरा-१ का ४३ वर्षीय दिपु साई, नयाँपुलका ४७ वर्षीय लङ बहादुर नेपाली, नयाँपुल १९ वर्षीय अरविन विक, हाइजुङका २२ वर्षीय ग्रिस क्षेत्री, नयाँपुलका ६२ वर्षीय थम बहादुर सार्की र नयाँपुलका ४२ वर्षीय पुर्ण बहादुर नेपाली रहेका छन् ।
प्रहरीका अनुसार हाल पक्राउ परेकाहरुबाट थप विवरण संकलन र अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ।
