
पोखरा । यस वर्षको गीतकार सम्मान २०८२ प्रतिष्ठित गीतकार आरजु विष्ट ‘सल्यानी’ लाई प्रदान गरिने भएको छ । गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसरमा यही कार्तिक १५ गते शनिबार पोखरामा विशेष समारोहका बीच सल्यानीलाई सम्मान गर्ने तयारी गरेको हो ।
सम्मानसहित सल्यानीलाई ५ हजार ५ सय ५५ रुपैयाँ दोसल्ला र सम्मानपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिभा छनोट समितिको संयोजकत्व गीतकार हरिहर खनियाले गरेका छन् भने सरस्वती श्रेष्ठ ‘सरू’, सुरज उपाध्याय सदस्य र अध्यक्ष शीतल गिरी, सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेका छन् । समितिको सिफारिसलाई प्रतिष्ठानको कार्यसमितिले अनुमोदन गरेको जानकारी उपाध्यक्ष अनुराग अधिकारीले दिएका छन् ।
सल्यानको खलङ्गामा जन्मेका गीतकार आरजु विष्ट ‘सल्यानी’ सन् २०५८ सालदेखि पोखरामा रहँदै पत्रकारिता र साहित्य लेखनमा सक्रिय छन् । हाल उनी रेडियो अन्नपूर्णका समाचार प्रमुखका रूपमा कार्यरत छन् ।
‘सागर’ र ‘झ्याम्म झ्याम्म’ शीर्षकका दुई गीति एल्बम बजारमा ल्याइसकेका सल्यानीका ‘जित मात्रै कहाँ हो र…’, ‘झ्याम्म झ्याम्म…’, ‘ठोकिँदा ठोकाइमा…’, ‘लौ आयो भलिबल’, ‘आहा रारा गोल्डकपमा…’ लगायतका गीतहरू चर्चित छन् । उनका करिब ३०० गीत रेकर्ड भएका छन् ।
गीत, साहित्य र पत्रकारितामा उल्लेखनीय योगदान दिएका सल्यानी यसअघि गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, विन्दवासिनी राष्ट्रिय सङ्गीत पत्रकारिता पुरस्कार, र राप्ती राष्ट्रिय म्युजिक पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।
गीतकार प्रतिष्ठानले हरेक दुई वर्षमा नेपाली गीतसंगीतमा योगदान पु-याउने एक उत्कृष्ट गीतकारलाई सम्मान गर्ने परम्परा अघि सारेको हो । यसअघि यो सम्मान प्रकट पगेनी ‘शिव’, शीतल कादम्बिनी र सरस्वती श्रेष्ठ ‘सरू’ ले प्राप्त गरिसकेका छन् ।
