कालीगण्डकी तटमा उत्तर गण्डकी महामेला, पोखराबाट कात्तिक १४ गते बृहत् कार र्याली आयोजना गरिने

Share:

पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका-१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका-१ को सङ्गमस्थल उत्तरवाहिनी (कालीगण्डकी तट) क्षेत्रमा जारी उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव-२०८२ लाई भव्य बनाउन पोखराबाट कात्तिक १४ गते बृहत् कार र्याली आयोजना गरिने भएको छ ।

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा असोज २१ गतेदेखि कात्तिक १९ गतेसम्म सञ्चालन भइरहेको यस धार्मिक महामेलाले कालीगण्डकीको धार्मिक, सांस्कृतिक र प्राकृतिक महिमा विश्वभर प्रचार-प्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ ।

प्रचार-प्रसार उपसमिति कास्कीका संयोजक चन्द्रकान्त बरालका अनुसार र्याली पोखरा-१७ स्थित बराल फिडबाट बिहान ७:०० बजे सुरु भई गल्याङ नगरपालिका-१, मालुङ्गासम्म पुग्नेछ । उनका अनुसार महामेलाको सफलताका लागि धेरैभन्दा धेरै भक्तजन, संघ-संस्था र स्थानीय सहभागी हुने गरी तयारी तीव्र गतिमा भइरहेको छ ।

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्यकृष्ण जी महाराजका अनुसार यस महामेलामा विश्वभरका गण्डकी र शालग्राम भगवानका प्रेमी जन, विद्वान, सन्त र आचार्यहरूद्वारा दिव्य शास्त्र र भक्तिको महिमाले परिपूर्ण कथा श्रवण गरिनेछ ।

महामेलामा करिब ५ अर्ब तुलसीपत्र र पवित्र उत्तरबाहिनी गण्डकी जलद्वारा सवा लाख दिव्य शालग्राम शिलाहरूको अभिषेक र पूजन गरिनेछ ।साथै, भगवान दामोदर, माता गण्डकी, शालग्राम शिला र तुलसी महारानीको नित्य दिव्य महाआरती, साथै विश्वभरका विशिष्ट व्यक्तित्व, धर्मगुरु र समाजसेवीहरूद्वारा प्रवचन कार्यक्रम समेत सञ्चालन भइरहेका छन् ।

महामेलाको अवसरमा उत्तरबाहिनी गण्डकी महास्नान, तीर्थश्राद्ध र गण्डकी क्षेत्र परिक्रमा जस्ता कार्यक्रमहरू पनि सम्पन्न हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: