
पोखरा । पोखरामा ड्युटीमा खटिएका एक प्रहरी हवल्दारको अचानक मृत्यु भएको छ। विशेष सुरक्षा योजनाअन्तर्गत पोखरा-१३ गौंडाकोमुख क्षेत्रमा खटिएका प्रहरी हवल्दार ओमकुमार थापा अचेत अवस्थामा भेटिएका थिए।
अचेत अवस्थामा भेटिएपछि उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो। तर, अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार थापा नवलपुरको विनय त्रिवेणी गाउँपालिका-६, शिवपुरगढी निवासी हुन्।
उनी जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्कीमा दरबन्दी भई सिआरभी भद्रकालीमा कार्यरत रहेका थिए।
प्रहरीले थापाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। घटनाको प्रारम्भिक तथ्य संकलन र चिकित्सकीय परीक्षणपछि मात्र स्पष्ट निष्कर्ष आउने बताइएको छ।
