पोखरामा लागू औषध सहित दुई युवक पक्राउ

Share:

पोखरा । पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित क्षेत्रमा लागू औषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले गरेको छापामार कारबाहीमा दुई जना युवक पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले बुधबार राति करिब ८:५० बजे सो स्थानबाट पोखरा-१२ का २२ वर्षीय राहुल घले र पोखरा-१८ का ३१ वर्षीय सुदिप विश्वकर्मालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट डाईजापाम १४९ एम्पुल, फेनारगन १४७ एम्पुल र नुर्फिन १४७ एम्पुल गरी जम्मा ४४३ एम्पुल लागू औषध बरामद गरिएको छ। साथै मोबाइल फोन दुई थान पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका दुबै जनामाथि लागू औषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको छ। कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले पछिल्लो समयमा पोखरा आसपासका क्षेत्रमा बढ्दो लागू औषध कारोबार नियन्त्रणका लागि विशेष निगरानी बढाएको र यस किसिमका अवैध क्रियाकलापमा संलग्न जो–कोहीलाई कानूनी कारबाही गरिने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: