
पोखरा । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले शुक्रबार पोखरा महानगरपालिका-६ सहिदचोकस्थित नेपाल प्रहरी प्रदेश कार्यालय परिसरमा नव-निर्मित नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्पको भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा बोल्दै आईजीपी खापुङले समाजमा शान्ति र सुरक्षाको सुनिश्चितताका लागि नेपाल प्रहरीले समुदायसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै भने, “यो पेट्रोल पम्पले नागरिकलाई गुणस्तरीय इन्धन उपलब्ध गराउने मात्र होइन, प्रहरी र समुदायबीचको विश्वास र सहकार्य अझ सुदृढ बनाउनेछ।”
उनले प्रहरी सेवालाई अझ नागरिकमैत्री बनाउने निर्देशन दिँदै, नेपाल प्रहरी राज्यको भरोसायोग्य संस्था भएको र त्यस भरोसालाई कायम राख्न हरेक प्रहरी तत्पर रहनुपर्नेमा जोड दिए। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायत अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी दिनेश कुमार आचार्यले धन्यवाद ज्ञापन गरेका थिए भने नेपाल प्रहरी कल्याण कोषका वरिष्ठ उपरीक्षक (एसएसपी) संजय सिंह थापाले स्वागत मन्तव्य दिएका थिए।
त्यस अवसरमा प्राविधिक प्रहरी नायब उपरीक्षक चिरञ्जीवी प्रताप महतोले पेट्रोल पम्प निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
नेपाल प्रहरी कल्याण कोषको कुल लागत ९ करोड ९४ लाख ७४ हजार ६ सय ७६ रुपैयाँमा पम्प र पूर्वाधार निर्माण सम्पन्न गरिएको हो।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, उद्योगी-व्यवसायी, सञ्चारकर्मी र स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

