
पोखरा । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डन्डु राज घिमिरेले कर्मचारीको व्यवहारमा आएको सकारात्मक परिवर्तन नै तालिमको वास्तविक प्रभावकारिता मापन गर्ने आधार हुने बताएका छन्। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित तीस कार्यदिने सेवाकालीन तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख सचिव घिमिरेले भने, “तालिमले तब मात्र सफलता पाउँछ जब कर्मचारीले सिकेका कुरालाई व्यवहारमा उतारेर सेवा प्रवाहमा सुधार ल्याउँछन्।”
भाद्र १८ गते सुरु भएको उक्त तालिममा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौँ र आठौँ तहका अधिकृत स्तरका कर्मचारीहरू सहभागी थिए।समापन समारोह प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीको अध्यक्षता तथा प्रमुख सचिव घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
मुख्य अतिथि घिमिरेले चुनौतीपूर्ण परिस्थिति बीच पनि तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, गण्डकी प्रदेश निजामती ऐन र नियमावलीअनुसार कर्मचारीको क्षमता अभिवृद्धिका लागि नियमित तालिम आवश्यक रहेको उल्लेख गरे।तीस कार्यदिने तालिममा ४६ जना प्रशिक्षकले सहजीकरण गरेका थिए भने ३० जना कर्मचारी सहभागी भएका थिए। तालिम अवधिभर प्रतिष्ठानका उपसचिव प्रभाकर घिमिरे र प्रशिक्षण तथा अनुसन्धान अधिकृत ई। मनोज पौडेलले तालिम व्यवस्थापन तथा संयोजनको जिम्मेवारी सम्हालेका थिए।
समापन सत्रमा कार्यकारी निर्देशक तिवारीले तालिमको संक्षेप प्रस्तुत गरेका थिए। सहभागीको तर्फबाट डा. कमल अधिकारी र कल्पना सापकोटाले अनुभव र सुझाव प्रस्तुत गरे। कार्यक्रम प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो। अन्त्यमा सहभागीहरूको तालिम नतिजा सार्वजनिक गरी श्रेणीसहित प्रमाणपत्र वितरण गरिएको प्रतिष्ठानले जनाएको छ।
