पोखरामा खुला रक्तदान कार्यक्रम, २६ जनाले गरे रगत दान

Share:

पोखरा। दलित एकता सञ्जाल नेपाल, कतार तथा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा पोखरामा एकदिने खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विश्वकर्मा समाज नेपाल, परियार सेवा समाज जिल्ला समन्वय समिति कास्की, मिजार समाज गण्डकी प्रदेश, र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ट्याक्सी सेवा केन्द्रको सहयोग रहेको थियो।

कार्यक्रममा २६ जना रक्तदाताहरूले स्वेच्छाले रगत दान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

उद्घाटनपछि बोल्दै अध्यक्ष सुनारले समाजका विभिन्न संघ-संस्थाहरूले सञ्चालन गर्ने यस्ता रक्तदान कार्यक्रमहरूले रगत अभावमा जीवन संघर्ष गरिरहेका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। “रक्तदान जीवनदान हो। यस्तो कार्यले मानवीय संवेदनशीलता र एकताको सन्देश फैलाउँछ,” उनले भने।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले विभिन्न समयमा हुने रक्तदानका कारण पोखरामा हाल रगत अभावको समस्या कम भएको बताए।

“नियमित रूपमा हुने यस्ता कार्यक्रमहरूले रक्तसञ्चार सेवामा सहजता ल्याएका छन्,” उनले भने। विश्वकर्मा समाज नेपालका अध्यक्ष रत्न बहादुर विकले रक्तदान अभियानलाई सामाजिक उत्तरदायित्व र मानवीयताको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गरे।

त्यस्तै, नेपाल जिम्न्याष्टिक संघ गण्डकी प्रदेशका महासचिव प्रकाशचन्द्र सापकोटाले रगत अभावलाई पूर्ति गर्न यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम दलित एकता सञ्जाल नेपाल, कतार तथा नेपालका अध्यक्ष प्रकाश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने समाजकी सदस्य हिरामणी भूषालले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

स्वयंसेवी रक्तदाता समाज कास्कीले कास्की जिल्लामा रगत अभावको परिपूर्ति गर्न निरन्तर रक्तदान कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, समाजले जनचेतनामूलक र सामाजिक उत्तरदायित्वका अभियानहरूलाई पनि निरन्तरता दिइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: