
पोखरा। पोखरा न्युरोडका व्यवसायीहरूले एकतर्फी पार्किङ व्यवस्थाका कारण व्यापार-व्यवसाय प्रभावित भएको र व्यवसायीहरू पलायन हुन थालेका भन्दै सोमबार सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
पोखरा सभागृहदेखि बिपी चोकसम्मको पश्चिमपट्टि रहेका करिब दुई सय व्यवसायीहरूले दुवै साइड पार्किङको सुविधा माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं. ८ र ९ का कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।
न्युरोड व्यवसायी समितिका संयोजक प्रदिप राज भण्डारीका अनुसार पछिल्लो समय एकतर्फी पार्किङ नीति लागू भएपछि न्युरोडका व्यवसायहरू क्रमशः बन्द र स्थानान्तरण हुन थालेका छन्।
“एकतर्फी पार्किङका कारण ग्राहक आउन हिचकिचाउँछन्, कारोबार घटेको छ, सटरहरू खाली हुँदै गएका छन्,” भण्डारीले भने, “यो निर्णयले सम्पूर्ण व्यवसायिक वातावरण नै जोखिममा पारेको छ।”
व्यवसायीहरूले स्मरण गराएका छन् कि न्युरोडका व्यापारीहरू पहिले नै भूकम्प, नाकाबन्दी र कोभिड-१९ महामारीको आर्थिक प्रभाव झेलिरहेका थिए। अहिलेको एकतर्फी पार्किङ व्यवस्थाले थप संकट थपेको उनीहरूको भनाइ छ।
सभागृहदेखि बिपी चोकसम्म पश्चिमपट्टिका घरबेटी र व्यवसायीहरूको भेलाले दुवै साइडमा पार्किङको सुविधा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सुजित कुमार देवकोटा, पोखरा महानगर-८ का अध्यक्ष रुद्रनाथ बराल र वडा नं.९ का अध्यक्ष दिपेन्द्र मर्सानीलाई बुझाएका छन्।
व्यवसायी समितिका संयोजक भण्डारीका अनुसार न्युरोडका व्यवसायीहरूले पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई पनि ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्। “हामीको माग सरल छ, ग्राहक र व्यवसायी दुबै सहज हुने वातावरण बनाइदिनुहोस्। दुवै साइडमा पार्किङ खोल्दा मात्र न्युरोड फेरि जीवित हुन्छ,” भण्डारीले भने।
व्यवसायीहरूले न्युरोडलाई पोखराको व्यापारिक केन्द्रका रूपमा पुनःजीवन दिन र पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त छलफल र सहकार्य गर्न प्रशासन, ट्राफिक र महानगरसँग अपील गरेका छन्।



