पोखरामा ब्राउनसुगरसहित दुई जना पक्राउ

Share:

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ब्राउनसुगर (खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार हिजो सोमबार राति करिब ८:०० बजे, पोखरातर्फ आउँदै गरेको ग १ ख ४४९९ नम्बरको हाईसमा लागू औषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले उक्त सवारीसाधनलाई पोखरा–९, पृथ्वीचोकमा रोकी जाँच गर्दा उक्त पदार्थ बरामद गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा पोखरा-३२ का ३७ वर्षीय विनोद ढकाल, र मकवानपुर हेटौडा उप-महानगरपालिका-१२ सिक्रेनीका ३८ वर्षीय विकास लामा रहेका छन्।

दुवैजनाको शरीर तथा झोलाको तलासी गर्दा ३.८९ ग्राम खैरो हिरोइन (ब्राउनसुगर) जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

१५ दिन म्याद थप

बरामद सामग्रीसहित दुवैजनालाई नियन्त्रणमा लिएर प्रहरीले कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी मुद्दामा १५ दिन (पन्ध्र दिन) म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले हाल लागू औषध नियन्त्रण र ओसारपसारमा संलग्न समूहहरूको गतिविधि नियन्त्रण गर्न नियमित गस्ती र निगरानीलाई तीव्र बनाएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: