
पोखरा। नेपाल परिवार नियोजन संघ कास्की शाखाले मंगलबार पोखरा महानगरपालिका-१, स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेको छ। संघले किशोर-किशोरी तथा युवाहरूमाझ यौनिक र प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी अभिवृद्धि गर्न विद्यालय र कलेजहरूमा अभियान सञ्चालन गर्ने योजना अनुसार यो कार्यक्रम सञ्चालन गरिएको संघका सभापति नवीन सिग्देलले जानकारी दिए।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १ का वडा सदस्य रामजी प्रसाद पौडेलले स्थानीय तहले पर्याप्त ध्यान दिन नसकेको क्षेत्रमा संघले पुर्याएको योगदान प्रशंसनीय भएको बताए।
राष्ट्रिय माविका प्रधानाध्यापक इश्वरी प्रसाद सापकोटाले किशोर-किशोरी र युवाहरूका लागि अत्यन्तै उपयोगी कार्यक्रम विद्यालयमा आएकोमा खुशी व्यक्त गर्दै विद्यार्थीको व्यवहारिक ज्ञान र आत्मविश्वास वृद्धि हुने बताए।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, वरिष्ठ शाखा प्रबन्धक नब राज तिवारी, तथा कर्मचारी सुरज चौधरीले सहजीकरण गरेका थिए।
संघका सभापति नवीन सिग्देलको अध्यक्षता र वरिष्ठ शाखा प्रबन्धक नब राज तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। संघले यस्ता सचेतनामूलक कार्यक्रमहरू यौनजन्य रोग, सुरक्षित मातृत्व, परिवार नियोजन र लैङ्गिक समानता जस्ता विषयमा निरन्तर संचालन गर्दै आएको जनाएको छ।
