
पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले पोखरा-२ स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शुक्रबार यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेको छ।
किशोर–किशोरी र युवाहरूलाई लक्षित गरी सुरु गरिएको यो अभियान अन्तर्गत संघले विद्यालय तथा कलेजहरूमा निरन्तर रूपमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।
संघका सभापति नवीन सिग्देलका अनुसार, “युवापुस्तालाई यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा जानकारीमूलक बनाउने र जिम्मेवार व्यवहारतर्फ उन्मुख गराउने यो अभियान अत्यन्तै प्रभावकारी बन्नेछ।”
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. २ का अध्यक्ष दिवसमान प्रधानाङ्गले गर्नुभयो। उद्घाटन गर्दै उहाँले भने,
“सम्वेदनशील उमेर समूहलाई लक्षित गरी सञ्चालन गरिएको यो अभियान समयसापेक्ष र प्रशंसनीय पहल हो।”
त्यसैगरी वडा सदस्य गोमा सुवेदीले स्थानीय तहले यस्ता सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याइन्।
विद्यालयका प्रधानाध्यापक बसन्त पाण्डेले शिक्षा र स्वास्थ्य दुवै विषयसँग जोडिएको यो कार्यक्रम विद्यार्थीका लागि अत्यन्तै उपयोगी रहेको बताउँदै, “यस्तो खालको व्यवहारिक शिक्षा विद्यालयमा नियमित हुन आवश्यक छ,” भने।
कार्यक्रममा संघका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी, र कर्मचारी सुरज चौधरीले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रम संघका सभापति नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले गर्नुभएको थियो।
