
काठमाडौं । “श्रम प्रति सम्मान, विकास प्रति जनताको सहभागिता” भन्ने मूल मन्त्रसहित समाज सेवा क्लबले फिक्कल गाउँपालिकामा श्रमदान र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सुरु गरेको छ। ग्रामीण भौतिक विकाससँगै हराउँदै गएको गाउँको मौलिकता र ऐतिहासिक सम्पदाको संरक्षणका उद्देश्यले क्लबले जन श्रमदान अभियान आरम्भ गरेको हो।
यस अभियानअन्तर्गत क्लबले हालै फिक्कल गाउँपालिका-१ स्थित गुयालो भञ्ज्याङ, घले डाँडामा नयाँ चौतारी निर्माण गरेको क्लबका सल्लाहकार खेलमान सुनुवार ‘अविरल’ ले जानकारी दिए।
क्लबले पुराना चौतारीहरूको सरसफाइ, संरक्षण र मर्मतसँगै नयाँ चौतारी निर्माण कार्यलाई निरन्तरता दिने जनाएको छ। साथै, क्लबले हरेक महिनाको एक दिन स्वयंसेवकका रूपमा श्रमदान गर्ने निर्णय समेत गरेको छ।
त्यसैगरी, क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत जनकल्याण निमावि, नयाँगाउँमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरेको छ। जाडो बढ्दै जाँदा क्लबले विपन्न परिवारहरूलाई नगद र न्यानो कपडा समेत वितरण गरेको हो।
क्लबकी कोषाध्यक्ष गौरी माया सुनुवारका अनुसार, अपाङ्गता भएका र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकता दिइएको छ। हाल छुटेकाहरूलाई अर्को चरणमा समेटिनेछ।
कार्यक्रममा प्रमुख अतिथि विद्यालयकी प्रधानाध्यापक मिरा कुमारी पाख्रिनले संस्थाको सामाजिक कार्यको प्रशंसा गर्दै भनिन्, “यस्ता कार्यक्रमले फरक क्षमता भएका बालबालिकाको विद्यालयमा नियमितता र आत्मविश्वास दुवै बढाउँछ।”
क्लबका सचिव तिलक सुनुवारका अनुसार, उक्त सहयोग देउसी-भैलो खेलेर संकलित रकमबाट प्रदान गरिएको हो।
यसैबीच, क्लबले गाउँमा सांस्कृतिक र खेलकुद गतिविधिका लागि मैदान निर्माण गर्ने तयारी समेत थालेको छ। क्लबका अध्यक्ष गणेश बहादुर सुनुवारले फिल्ड निर्माणका लागि स्थानीय र सरोकारवालाको साथ-सहयोगको आह्वान गर्दै भने, “आफ्नै गाउँमा खेल मैदान बन्ने भएको खबरले स्थानीय बासिन्दा उत्साहित भएका छन्।”
