भारी हिमपात र अत्यधिक चिसो बढेसँगै मुस्ताङमा याकचौँरी बेँसी झारिँदै

Share:

मुस्ताङ। एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै मुस्ताङका उच्च हिमाली लेकहरूमा पालिएका याकचौँरीहरूलाई जाडो छल्न बेँसीतर्फ झारिएको छ। हिमपातका कारण उच्च लेकका चरनक्षेत्रहरू हिउँले पूरै ढाकिँदा र पानीका मुहान जमिँदा याकचौँरीलाई आहारा र पानी व्यवस्थापन गर्न कठिनाइ भएकोले गोठालाहरूले चौँरीलाई न्यानो बेँसीमा ल्याएका हुन्।

मुस्ताङका पाँच स्थानीय तहका उच्च लेकहरूमा बर्खायाममा याकचौँरीपालन हुने गरे पनि हिउँ पर्न थालेपछि कात्तिकदेखि जेठ महिनासम्म ती चौँरीहरू बेँसीमा राखिन्छन्। हिमालयन चौँरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनका अनुसार हिउँ पग्लिएपछि वैशाखदेखि असोज मसान्तसम्म चौँरीहरू पुनः उच्च लेक र खर्कमा लगिने चलन छ।

थासाङ गाउँपालिका–२ को मार्चे लेकका करिब एक हजार याकचौँरी, मुलिखर्क लेकका पाँच सय र बतासे लेकका सात सय चौँरी हालैको हिमपातपछि बेँसी झारिएका छन्। थासाङ-२ का वडाध्यक्ष गौतम शेरचनका अनुसार मार्चे लेकमा भेटेरिनरी अस्पताल र पशु सेवा केन्द्रको सहयोगमा नयाँ ‘घम्ती गोठ’ निर्माण गरिएको छ।

त्यस्तै, घरपझोङ गाउँपालिकाका भूपेन्द्र शेरचन र वीरबहादुर घर्तीका पाँच सयभन्दा बढी चौँरी नमुख लेकबाट तल पारिलो स्थानमा ल्याइएको छ। माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा समेत याकचौँरीपालन परम्परागत संस्कृतिको रूपमा कायम छ।

तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण यो परम्परागत पेशा संकटमा परेको पालकहरूको गुनासो छ। कहिले अत्यधिक हिमपात, कहिले हिउँ नपर्ने अवस्थाले चरनक्षेत्रमा घाँस अभाव, पानीको समस्या र हिमचितुवालगायत वन्यजन्तुको आक्रमणले चौँरीपालन चुनौतीपूर्ण बन्दै गएको छ।

याकचौँरीको दूधबाट दही, घिउ र छुर्पीजस्ता स्थानीय परिकार उत्पादन हुने गर्छन्। चौँरीको पुच्छर धार्मिक प्रयोजनका लागि प्रयोग हुने भएकाले यसको बजार मूल्य पनि उच्च छ।

स्थानीयवासीहरूका अनुसार चौँरीपालन मुस्ताङको पहिचान मात्र नभई जीविकोपार्जनको प्रमुख स्रोत हो। तर जलवायु परिवर्तनका असामान्य प्रभावका कारण हिमाली संस्कृति र जीविकासँग जोडिएको यो पेशा अस्तित्व संकटमा पुगेको चेतावनी उनीहरूले दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: