
काठमाडौं । दाङको गढवा गाउँपालिका-४ अजगढवामा भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमकै बीचमा एक दुःखद घटना घटेको छ। जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गढवा–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादवको बिहीबार सास रोकिएर घटनास्थलमै मृत्यु भएको हो।
राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण अभियानअन्तर्गत रामनगरस्थित खोप केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविकाद्वारा औषधि खुवाउने क्रममा यो घटना भएको हो।
प्रहरीका अनुसार जुकाको औषधि बालिकाको घाँटीमा अड्किएपछि सास फेर्न नसक्दा केही मिनेटमै उनको ज्यान गएको अनुसन्धानबाट खुलेको छ। “औषधि खुवाउने क्रममा बालिकाको श्वासप्रश्वासमा समस्या देखिएपछि तुरुन्तै उद्धार प्रयास गरिएको थियो, तर ज्यान जोगाउन सकिएन,” निरीक्षक बमले बताए।
बालिकाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ। घटना संवेदनशील भएकाले प्रारम्भिक अनुसन्धानपछि मात्र जानकारी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक बमले भने, “पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको वास्तविकता पूर्ण रूपमा प्रस्ट हुनेछ।” उनले यस्ता स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दा सावधानी र बालबालिकाको उमेरअनुसार औषधि खुवाउने विधिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
स्थानीयवासीहरूले बालिकाको मृत्युले गाउँ शोकमा डुबेको बताएका छन्। उनीहरूका अनुसार स्वास्थ्य सुरक्षाका उद्देश्यले सुरु गरिएका यस्ता अभियानमा सावधानीको सानो कमीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले स्वास्थ्यकर्मी र स्वयंसेविका दुवै सतर्क हुनुपर्ने बताएका छन्।
