एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भूसाल संयोजकमा नियुक्त, माओवादीसँगको एकतामा असहमति

201
0
Share:

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) भित्र राजनीतिक उतारचढावबीच नयाँ मोड आएको छ। पूर्व महासचिव घनश्याम भूसाललाई पार्टीको संयोजक तोकिएको छ। शनिबार बसेको पार्टीका ६७ केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै भूसाललाई नेतृत्वको जिम्मेवारी दिएको हो।

यसअघि अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समाजवादीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय लिएको थियो। तर महासचिव भूसालले उक्त एकतामा तीव्र असहमति जनाउँदै स्वतन्त्र संगठनको पक्षमा उभिएका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार, भूसाल संयोजक रहेको पुनर्गठित समाजवादीले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ। भेला पार्टीको नयाँ संरचना र नीति तय गर्ने तयारीका रूपमा देखिएको छ।

यसअघि भूसालले नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग सहकार्यका लागि सहमति जनाएका थिए।

उनी निकट स्रोतका अनुसार, भूसालले अहिलेको राजनीतिक परिवेशमा विचार र वैकल्पिक बाम राजनीति निर्माणको आवश्यकता औंल्याउँदै आएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: