
पोखरा। लायन्स क्लब अफ पोखरा डल्फिनद्वारा आयोजित पिस पोष्टर प्रतियोगितामा युनिशा मगर प्रथम भएकी छन्। आइतबार पोखराको मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सम्पन्न सो प्रतियोगितामा अर्चना रत्न द्वितीय, उपासना रेग्मी तृतीय, र मौं भुमिकले सान्त्वना स्थान हासिल गरे।
कार्यक्रम संयोजक लायन कृष्णकुमार श्रेष्ठका अनुसार विभिन्न विद्यालयका २७ जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।कार्यक्रम लायन्स क्लब अफ पोखरा डल्फिनका अध्यक्ष सुरेन्द्र बरालको अध्यक्षतामा सम्पन्न भएको थियो। उत्कृष्ट विद्यार्थीहरूलाई डिस्ट्रिक्ट चिफ एवम् पिस पोष्टर प्रमुख लायन शिवबहादुर खड्काले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
पुरस्कार वितरण गर्दै उनले भने, “विद्यार्थीहरूका प्रतिभा र सिर्जनशीलता प्रस्फुटनका लागि लायन्स क्लबले निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।” त्यसैगरी, पि.आर.ओ. इन-चिफ लायन ऋषि गिरीले हरेक वर्ष आयोजना हुने यस्ता प्रतियोगिताले विश्वमा शान्ति, सहिष्णुता र सद्भाव फैलाउन सहयोग पुर्याउने बताए।
कार्यक्रममा पूर्व अध्यक्ष लायन कृष्णकुमार श्रेष्ठ, निर्णायक अनिता थापा र लायन दुर्गाप्रसाद शर्माले क्लबले शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।
