जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट गर्ने दुई जना पक्राउ

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जेनजी आन्दोलनको नाममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

गत भदौ २४ गते भएको आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न सरकारी, गैरसरकारी कार्यालय र व्यक्तिगत पसल तथा घरहरूमा तोडफोड, आगजनी र लुटपाट भएका थिए। घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको पहिचानका लागि विशेष टोली गठन गरी अनुसन्धान थालेको थियो।

अनुसन्धानकै क्रममा गत कार्तिक २१ गते शुक्रबार प्रहरीले पोखरा महानगरपालिका-५ स्थित दुई जनाको कोठाबाट चोरीका विभिन्न सामान बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा गोरखा स्थायी वतन भई हाल पोखरा-५ बसोबास गर्ने २८ वर्षीय दीपक कुँवर र धादिङ स्थायी वतन भई हाल पोखरा-५ बसोबास गर्ने २३ वर्षीय दीपक राना मगर रहेका छन्।

प्रहरीले उनीहरूको कोठाबाट Dell कम्पनीका CPU-३ थान, Dell कम्पनीको मनिटर-१ थान, किबोर्ड र माउस-३/३ थान, Canon कम्पनीको प्रिन्टर-१ थान मन्टिप्लग -२ थान “HANNA in Struments” लेखिएको मेसिन सहितको डिब्बा १ थान, विभिन्न व्यक्तिका नाममा रहेको स्मार्ट कार्ड-३६ थान र बा.५९ प.८४३८ नम्बरको २२० सिसी क्षमताको मोटरसाइकल-१ थान  बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव गर्न नहुने कसूरमा कास्की जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले आन्दोलनको नाममा हिंसा र तोडफोड गर्ने, सरकारी सम्पत्ति लुट्ने तथा आतङ्क सिर्जना गर्ने कुनै पनि व्यक्तिलाई कानूनी कारबाहीबाट उन्मुक्ति नदिइने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: