कास्की आइडलको पहिलो अडिसन सम्पन्न, गायन र नृत्यका ३५ प्रतिभा दोस्रो चरणमा

Share:

पोखरा । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानको संयुक्त आयोजनामा भएको गायन र नृत्य प्रतियोगिता ‘कास्की आइडल’को पहिलो अडिसन पोखरामा सम्पन्न भएको छ। शनिबार पोखरा-२७, तालचोकमा सम्पन्न पहिलो अडिसनबाट गायनतर्फ २० जना र नृत्यतर्फ १५ जना प्रतिभा दोस्रो चरणका लागि छनोट भएका छन्। प्रतियोगिताको फाइनल चरणमा ‘टप ५’ प्रतिस्पर्धी छनोट गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै कवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोह-अवरोह र भावनात्मक रंगचित्र प्रस्तुत गर्ने भएकाले सबैको मन छुने बताउँदै भने,“यस्ता प्रतियोगिताले नयाँ पुस्तामा सिर्जनशीलता र आत्मविश्वास जगाउँछन्।”

श्रेष्ठले आफूले विद्यार्थी जीवनमा चित्रकला र कविता प्रतियोगितामा भाग लिँदा प्राप्त प्रेरणा अझै सम्झना रहने बताए। कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले दुई संस्थाले संयुक्त रूपमा आयोजना गरेको यस कार्यक्रम स्थानीय स्तरमा रहेका गायन र नृत्यका प्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बताए।

अधिकारीले पोखरा क्षेत्रले साहित्य, सङ्गीत र सिर्जनात्मक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै, ‘कास्की आइडल’बाट उदाएका प्रतिभाहरूले भविष्यमा यस क्षेत्रको सांस्कृतिक प्रतिष्ठा अझ उँचो बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा गायक झलक गुरुङले स्वागत मन्तव्य राख्दै प्रतियोगिताको रूपरेखा प्रस्तुत गरे भने रूपा वाङ्मय प्रतिष्ठानका सचिव मदन घिमिरेले शुभकामना मन्तव्य दिएका थिए। सो अवसरमा गायक अनिल ढुङ्गानाले साङ्गीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए। निर्णायक मण्डलमा गायनतर्फ खेम लामा र कृष्णमाया तिवारी, नृत्यतर्फ उपेन्द्र गुरुङ र समृद्धि पाण्डे रहेका थिए।

0-11776×6624-1-0-{}-0-12#

कमेन्ट गर्नुहोस्
Share: