पर्यटकीय सहर पोखरालाई विद्युतीय तारमुक्त बनाउन आयोजनाको गति तीव्र, ६० प्रतिशत सकियो काम

Share:

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना हाल ६० प्रतिशत सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत मुख्य सहरी क्षेत्र र पर्यटक आगन्तुक बढी आउने स्थानमा तार भूमिगत गर्ने काम तीव्र रूपमा अघि बढिरहेको छ।

आयोजनाको प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार, सुरुको चरणमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण प्रगति सुस्त थियो, तर पछिल्लो समयमा ठेक्का म्यादभित्र काम सक्ने प्रतिबद्धता लिइएको छ। आयोजनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याइएको छ। हाल सिर्जनाचोक, सभागृह, जिरो किलोमिटर क्षेत्र र लेकसाइड जरेबर क्षेत्रमा काम भइरहेको छ।

मुख्य राजमार्ग र सहायक सडकसम्म तार भूमिगत गरिनेछ। टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि जमिनमुनि बिछ्याइनेछ। इञ्जिनियर सुवेदी भने, “लेकसाइडको गल्ली नं १५, १६ र १७ क्षेत्रमा काम भइसकेको छ, भित्री क्षेत्रमा काम सुरु भएको छ। न्यूरोड र चिप्लेढुङ्गा क्षेत्रमा काम सुरु हुन बाँकी छ।”

भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले रु २ अर्ब ५० करोड ३३ लाखमा ठेक्का लिएको आयोजनामा पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु १ अर्ब ३० करोड खर्च हुने अनुमान छ। ‘होरिजेन्टल डाइरेक्शनल ड्रिलिङ’ प्रविधि प्रयोग गरी सडकमा न्यून क्षति हुनेगरी तार जमिनमुनि बिछ्याइँदैछ। साथै, ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याउने व्यवस्था गरिएको छ।

यसमा विद्युत् लाइनलाई जमिनमुनि सार्दा, अव्यवस्थित तार र पोल हट्ने, शहरको सौन्दर्य बढ्ने तथा बढी क्षमतायुक्त र भरपर्दो प्रणाली उपलब्ध हुनेछ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ, पोखरा र भरतपुर जस्ता ठूला सहरमा भूमिगत तारको योजना अघि बढाउँदै आएको छ।

इञ्जिनियर सुवेदी भने, “यो आयोजना मुख्य सहरी क्षेत्र र पर्यटकको बढी घुइँचो हुने स्थानको विद्युत् प्रणालीलाई आधुनिक र भरपर्दो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।”

कमेन्ट गर्नुहोस्
Share: