
पोखरा । पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय प्रतीक, फेवातालको मध्यभागमा अवस्थित तालबाराही भगवती मन्दिर पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। दैनिक हजारौँ भक्तजनले पूजाआजा र दर्शन गर्न आउने यस मन्दिरको ८० प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भइसकेको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम पहारीले जानकारी दिए।
विसं २०७२ को भूकम्पले मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएपछि पुनर्निर्माण सुरु गरिएको थियो। फेवातालको बीचको ढिस्कोमा मन्दिर अवस्थित भएकाले ढल्किँदा थप जोखिम बढेपछि पुरातत्व विभागको समन्वयमा पुनर्निर्माण कार्य अघि बढाइएको हो।
पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा भइरहेको पुनर्निर्माणमा रु १ करोड ८४ लाख खर्च हुने अनुमान गरिएको छ। विभागले रु ६ लाख सहयोग गरेको र बाँकी रकम मन्दिर गुठीको कोष र भक्तजनबाट संकलन गरिएको अध्यक्ष पहारीले बताए।
भक्तपुर र ललितपुरका सीपालु कालिगढले मन्दिरलाई पहिलेकै प्यागोडा शैलीमा पुनर्निर्माण गर्दैछन्। एक वर्षभित्र सक्ने भनिएको काम विभिन्न कारणले दुई वर्ष लागे पनि अब मन्दिरको छानो छाउने र रेलिङ निर्माण मात्र बाँकी रहेको कोषाध्यक्ष निर्मल खत्रीले जानकारी दिए। उनीका अनुसार, आउँदो वैशाखभित्र भक्तजनका लागि मन्दिर खुला गरिने तयारी भइरहेको छ।
ऐतिहासिक पृष्ठभूमि
कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले खरको झुप्रोमा स्थापना गरेको यस मन्दिरको इतिहास झण्डै १६६९ सालदेखि रहेको मानिन्छ। केही अभिलेखले मन्दिरको अस्तित्व १४४७ सालदेखि भएको देखाउँछन्। तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा हालको स्वरूपमा मन्दिर निर्माण गराएका थिए। मन्दिर व्यवस्थापन समिति भने २०५३ सालमा गठन भएको हो।
स्थानीय ८० वर्षीय रमेशबहादुर भट्टराईका अनुसार, फेवाताल भएको ठाउँ पहिले बस्ती थियो। एक वृद्ध जोगीले बस्ती डुब्ने चेतावनी दिएपछि केवल एक वृद्धा मात्र बाँचिन्। त्यसपछि विशाल वर्षाले बस्ती डुबायो र बगाएको मूर्ति अहिलेको स्थानमा आइपुग्यो। त्यही मूर्तिलाई केन्द्र मानी तालबाराही मन्दिर स्थापना गरिएको जनश्रुति छ।
धार्मिक विश्वास अनुसार, तालबाराहीको दर्शन गरेपछि मनोकामना पूरा हुने जनविश्वास छ। कोजाग्रत पूर्णिमा लगायतका विशेष पर्वमा यहाँ ठूलो मेला लाग्ने गर्छ।
पर्यटकीय आकर्षण
फेवातालको २३.३ मिटर गहिराइ, ४.४६ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइ रहेको छ। तालको बीचमा रहेको मन्दिर पुग्न तालको किनारबाट डुङ्गा चढेर पाँच मिनेटमै पुग्न सकिन्छ। यहाँबाट माछापुच्छ्रे हिमालको प्रतिबिम्ब, सराङकोट, पुम्दीकोट र विश्वशान्ति स्तूपको मनमोहक दृश्य देख्न सकिन्छ। वडा नं. ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईका अनुसार, पोखरा आउने पर्यटकका लागि फेवाताल र तालबाराही मन्दिर “घुम्नैपर्ने गन्तव्य” मध्ये एक बनेको छ।
मन्दिरसँग सम्बन्धित गुठीका नाममा खेत र केही रोपनी जंगलसमेत रहेको छ। तालबाराही मन्दिर धार्मिक आस्था, इतिहास र प्रकृतिको अद्भुत संगम अब छिट्टै आफ्नै नयाँ स्वरूपमा श्रद्धालु र पर्यटकका लागि पुनः खुल्न तयारी अवस्थामा छ।
