
पोखरा। जेनजी आन्दोलनपछि स्थगित गण्डकी प्रदेशसभाको बैठक लामो अन्तरालपछि आगामी सोमबार पुनः बस्ने भएको छ। आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकले सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाउने निर्णय गरेको हो। प्रदेशसभा सचिव गोविन्द पौडेलका अनुसार बैठकमा शून्य समय राखिने, त्यसपछि मुख्यमन्त्रीले सम्बोधन गर्ने र त्यसपछि विधेयकहरू सदनमा टेबल गर्ने कार्यसूची तय गरिएको छ।
सोमबारको बैठकमा गण्डकी विश्वविद्यालय ऐन संशोधन विधेयक र गाँजा खेतीसम्बन्धी विधेयक टेबल गरिनेछ भने खानी तथा खनिजसम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको सचिव पौडेलले जानकारी दिए।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रदेशसभा र सचिवालयका भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएपछि बैठक सञ्चालन हुन सकेको थिएन। यसअघि सभामुख शंकर भद्र धितालले असोज २२ गतेका लागि बैठक आह्वान गरे पनि अन्तिम समयमा पुनः स्थगित गरिएको थियो।
आन्दोलनका क्रममा युवाहरूले देखाएको असन्तुष्टि र आक्रोशले प्रदेशको विधायिक प्रक्रिया ठप्प पार्दै सरकारी सम्पत्तिमा ठूलो क्षति पुर्याएको थियो। प्रदेश सरकारका अन्य कार्यालयहरूले सफा/सफाइ र मर्मत कार्य सकेर नियमित सेवा सञ्चालन थालेका भए पनि प्रदेशसभा भवनहरू अझै प्रयोगयोग्य अवस्थामा छैनन्।
प्रदेशसभाको बैठक मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बस्ने तयारी गरिएको सचिव पौडेलले बताए। उनका अनुसार, संसद बैठकका लागि आवश्यक आन्तरिक व्यवस्थापन पूरा गरिएको छ।
बैठक कति दिन चलाउने भन्ने विषयमा सदनमा प्रतिनिधित्व गर्ने दलका नेताहरूबीच छलफलपछि अन्तिम निर्णय हुने बताइएको छ।
