पोखरामा ७५ एम्पुल लागू औषधसहित दुई जना पक्राउ

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारबाट लागू औषधसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान करिब ९ बजे शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा पोखरा-१३ का २६ वर्षीय लक्ष्मण नेपाली र म्याग्दी जिल्ला मालिका गाउँपालिका-६ दरबाङका ३२ वर्षीय ज्ञानबहादुर सार्की रहेका छन्।

प्रहरीले उनीहरूलाई खानतलासी गर्दा साथमा रहेको झोलाबाट डाइजेपाम २५ एम्पुल, ब्रुफिनुर्फिन २५ एम्पुल र फेनरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागू औषध, मोबाइल ३ थान र नगद रु. ८,३५५ रुपैयाँ बरामद गरेको जनाएको छ।

बरामद सामग्रीसहित दुवै जनालाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: