
पोखरा । ‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक तारा प्रसाद तिमिल्सीनाको ७३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि प्रोष्टेट क्यान्सरबाट पीडित तिमिल्सीनाको आइतबार राति आफ्नै निवास पोखरा-१६ बाटुलेचौरमा निधन भएको हो। वि.सं. २००८ साल मंसिर १२ गते जन्मिएका तिमिल्सीनाको अन्त्येष्टि सोमबार बिहान सेती नदीस्थित तुलसीघाटमा सम्पन्न गरिएको थियो। अन्तिम संस्कारमा उनका छोरा पवन तिमिल्सीनाले दागबत्ती दिएका थिए।
शवयात्रा घरबाट तुलसीघाटसम्म निकालिएको थियो, जसमा परिवार, आफन्त, राजनीतिक दलका नेता-कार्यकर्ता, साहित्यकार र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। अन्तिम श्रद्धाञ्जलीका क्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्ण थापा र कास्की अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले पार्टीको झण्डा ओढाएर तिमिल्सीनालाई अन्तिम बिदाइ गरेका थिए।
तिमिल्सीना दीर्घकालीन रूपमा सामाजिक, साहित्यिक र शैक्षिक क्षेत्रमा क्रियाशील व्यक्तित्वका रूपमा परिचित थिए। उनी हिमालय क्लवका पूर्व अध्यक्ष, शुक्ला साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष, भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चका पूर्व अध्यक्ष, वातावरण क्लब र विन्ध्यवासिनी क्याम्पसका सल्लाहकार समेत रहेका थिए। उनले स्व. झलकमान गन्धर्व शालिक निर्माणमा अग्रणी भूमिका निभाएका थिए।
समाजसेवी बसन्त तिमिल्सीनाले भने, “उनको निधनले समाजले एक असल अभिभावक गुमाएको छ।” तिमिल्सीनाको निधनप्रति हिमालय क्लब, शुक्ला साहित्य प्रतिष्ठान, विन्ध्यवासिनी क्याम्पस, वातावरण क्लब, नेकपा एमाले वडा कमिटी पोखरा-१६ लगायतका संघ-संस्थाले गहिरो शोक व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका छन्।
स्वर्गीय तिमिल्सीना पछाडि श्रीमती, एक छोरा र तीन छोरी रहेका छन्।
