
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-४ गणेशटोलबाट ११६ एम्पुल लागू औषधसहित थप एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ५ बजे लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले सो कार्यवाही गरेको हो।
पक्राउ पर्ने व्यक्ति पोखरा-४ रामकृष्णटोल निवासी ३० वर्षीय विकास किसान रहेका छन्। प्रहरी टोलीले उनको साथमा रहेको झोलाबाट डाइजेपाम ३८ एम्पुल, ब्रुफिनुर्फिन ३९ एम्पुल र फेनेरागन ३९ एम्पुल गरी जम्मा ११६ एम्पुल लागू औषध र मोबाइल फोन १ थान बरामद गरेको जनाएको छ।
बरामद सामग्रीसहित विकास किसानलाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले पछिल्ला दिनमा पोखरा क्षेत्रमा लागू औषधको खरिद-बिक्री तथा दुव्र्यसन नियन्त्रणमा कडाइका साथ निगरानी र कारबाही सञ्चालन गरिरहेको जनाएको छ।
