
पोखरा। कास्की जिल्लामा जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ५ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार गत भदौ २४ गते कास्की जिल्लाभर भएका आन्दोलनका क्रममा विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयहरू पसल र निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो। सो घटनामा संलग्नहरूको पहिचानका लागि प्रहरीले निरन्तर अनुसन्धान गरिरहेको थियो।
प्रहरीको टोलीले ती व्यक्तिहरूलाई पक्राउ गरी उनीहरूविरुद्ध “आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूर” अन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाएको छ। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं.१० बुद्धचोकका ५० वर्षिय चन्द्रबहादुर थापा, ‘खलि’ नामले चिनिने, ऐऐ बस्ने ४८ वर्षिय हरीबहादुर थापा, माछापुच्छ्रे गाउँपालिका वडा नं.३ बस्ने २५ वर्षिय सन्तोष परियार, पोखरा महानगरपालिका वडा नं.२६ बुढिबजार बस्ने ४० वर्षिय रमेश थापा तथा पोखरा महानगरपालिका वडा नं.९बस्ने ३५ वर्षिय अभिमन्यु पाण्डे रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले आन्दोलनका नाममा प्रहरी कार्यालयको हतियार तोडफोड गर्नुका साथै सार्वजनिक सम्पत्तिलाई क्षति पुर्याएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जनाएको छ।
