पोखरामा अन्तर्राष्ट्रिय लेखा दिवस मनाइयो, एकाउन्टिङ प्रोफेसन एण्ड एआई विषयक अन्तरक्रिया सम्पन्न

Share:

पोखरा। नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) पोखरा शाखाको आयोजनामा शुक्रबार अन्तर्राष्ट्रिय लेखा दिवस (International Accounting Day) उत्साहका साथ मनाइएको छ। हरेक वर्ष नोभेम्बर १० तारिखमा मनाइने यस दिवसको अवसरमा शाखाले यस वर्ष ‘Accounting Profession and AI (Artificial Intelligence)’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा पोखरा तथा आसपास क्षेत्रका चाटर्ड एकाउन्टेन्ट्स, रजिष्टर्ड अडिटर्स, उद्योगी–व्यवसायी र वाणिज्य संघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख वक्ता तथा नेपाल लेखामान बोर्डका सदस्य चाटर्ड एकाउन्टेन्ट दुर्गाप्रसाद ज्ञवालीले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोगले लेखा व्यवसायमा तथ्यांक विश्लेषण, समय व्यवस्थापन र निर्णय प्रक्रियामा ठूलो सहजता ल्याउने बताएका थिए। उनले लेखा पेशामा एआईको सही उपयोगका लागि प्राविधिक सीप सिक्नुपर्ने र त्यसको आधारमा विश्वसनीय विवरण उत्पादन गर्न सकिनेमा जोड दिए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी, र नेपाल युवा व्यवसायी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुमेज राजभण्डारी लगायतको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता चाटर्ड एकाउन्टेन्ट उबेक श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन चाटर्ड एकाउन्टेन्ट सागर आचार्यले र स्वागत चाटर्ड एकाउन्टेन्ट मदन पोखरेलले गर्नुभएको थियो।

शाखाका सदस्य तथा रजिष्टर्ड अडिटर चन्द्रबहादुर सुवेदीका अनुसार कार्यक्रममा ५० जना भन्दा बढी सहभागीको उत्साहपूर्ण उपस्थिति रहेको थियो। सहभागीहरूले एआई प्रविधिलाई आफ्नो पेशा तथा व्यवसायसँग कसरी प्रभावकारी रूपमा जोड्न सकिन्छ भन्ने विषयमा विशेष चासो र उत्साह व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: