
पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जापानको ओत्सुकी नगरसँग पर्यटन, प्रविधि, शिक्षा र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा द्विपक्षीय सहकार्यको सम्भावनाबारे सकारात्मक छलफल भएको जानकारी दिएका छन्।
उनका अनुसार दुवै नगरबीचको संवादले विकास साझेदारी, जनसम्बन्ध विस्तार र पर्वतीय नगरहरूको साझा संस्कृति र पर्यटन प्रवर्द्धनमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ। ओत्सुकी नगर, पोखराकै जस्तै हिमालको काखमा अवस्थित हुनाले दुवै सहरबीच भूगोल, संस्कृति र जीवनशैलीमा धेरै समानता रहेको उल्लेख गर्दै उनले पर्वतीय नगरका उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने विषयमा छलफल भएको बताए।
कार्यक्रमका क्रममा ओत्सुकी नगरका प्रमुख कोबायसीले पोखरा र जापानको होकुतो नगरबीच भएको “पर्वतीय नगर मित्रता” सम्बन्धी समझदारीपत्र पोखरा महानगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेका थिए।
उक्त समझदारीपत्रले पोखरा र होकुतोका नागरिकबीच पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै आपसी हित, विकास साझेदारी र जनसम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता प्रकट गरेको छ। ओत्सुकी नगर प्रमुख कोबायसीले पोखरालाई “प्राकृतिक रूपमा अत्यन्त सुन्दर र सम्भावनायुक्त शहर” भन्दै पर्यटन, ज्ञान, सीप र प्रविधिको आदानप्रदानका लागि नजिकको सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताए।
उनीसँगै ओत्सुकी नगरका सिनियर अफिसर काजुया सुगिमोतो, होकुतो नगरको कानुन विभाग प्रमुख हाजीमी ओसिवा, उद्योग तथा पर्यटन विभागका प्रतिनिधि सिन्जी यामादा र नेपाल-जापान फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष हिरोमी इसिओका समेत टोलीमा सहभागी थिए।
पोखरा महानगरको तर्फबाट नगर प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, वरिष्ठ कानुन अधिकृत नारायण शर्मा, सूचना प्रविधि अधिकृत सुवास ढुङ्गाना, र वडा सदस्य पूर्ण न्यौपाने सहभागी थिए। दुवै नगरका प्रमुखहरूले पोखरा र जापानबीचको सम्बन्धलाई आगामी दिनमा पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तरण र शैक्षिक सहकार्यको नयाँ मोडमा लैजाने सहमति व्यक्त गरेका छन्।
