
पोखरा । नेसनल प्याब्सन कास्कीले मंसिरको तेस्रो सातामा आयोजना गर्न लागेको दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता-२०८२ भव्य तयारीका साथ अघि बढिरहेको छ। महोत्सव अन्तर्गत बाल प्रतिभा पहिचान कार्यक्रम मंसिर २४ देखि २६ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा र खेलकुद प्रतियोगिता मंसिर २० देखि २२ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ। औपचारिक उद्घाटन समारोह मंसिर २४ गते आयोजना गरिनेछ।
एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीका अनुसार बाल प्रतिभा महोत्सवमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला (पात, पराल र चोयाबाट निर्मित सामग्री) र अंग्रेजी वक्तृत्वकला प्रतियोगिता समावेश छन्।
अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी, र अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी हुनेछन्।खेलकुदतर्फ छात्र क्रिकेट र छात्र फुटसल प्रतियोगिता हुनेछ। क्रिकेटमा कक्षा १–१० का विद्यार्थी र फुटसलमा कक्षा -११२ का विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।
महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमिति गठन गरिएको छ। अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थका अनुसार प्रत्येक प्रतियोगिताको संयोजक र सदस्य तोकिएका छन् ,लोकनृत्यमा शिवराज पौडेल, एकल गायनमा अर्जुनप्रसाद अधिकारी, चित्रकलामा विष्णुप्रसाद पौडेल, कविता वाचनमा हरिराज अधिकारी, अभिनयमा विक्रम सुवेदी, विज्ञान तथा प्रविधिमा तोलाकान्त न्यौपाने, हस्तकलामा रमेशराज पौडेल, र अंग्रेजी वक्तृत्वकलामा हेम रानाभाट संयोजक रहेका छन्।
त्यस्तै, खेलकुद प्रतियोगितामा क्रिकेटका संयोजक ज्ञानेन्द्र बहादुर थापा र फुटसलका संयोजक अर्जुनप्रसाद पाण्डे रहेका छन्। एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले भने, “यो महोत्सव विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्तुतीको मञ्च मात्र नभई सिकाइको थलो पनि हो। कास्कीका सम्पूर्ण विद्यार्थी, अभिभावक र विद्यालय प्रतिनिधिलाई सहभागिता तथा अवलोकनका लागि हार्दिक निमन्त्रणा गर्दछौं।”
सचिव प्रेमराज अधिकारीका अनुसार एन प्याब्सनमा आवद्ध ४३ विद्यालयका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने तयारी पूरा गरिसकेका छन्।
