
पोखरा। पोखराको प्रतिभा माध्यमिक विद्यालयले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबीबीएस शैक्षिक कार्यक्रम २०८२/८३ का लागि सञ्चालित एकीकृत प्रवेश परीक्षामा नाम निकाल्ने विद्यार्थीहरूलाई बधाई र सम्मान गरेको छ। आयोगले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार ८ हजार ७७२ जना परीक्षार्थीमध्ये प्रतिभा माविका पाँच विद्यार्थी युनिक पौडेल, भिष्म रेग्मी, समीर सुवेदी, दिक्षा सुनार र विनेश तिम्सिना उत्कृष्ट १०० जनाभित्र परेका छन्। साथै, सफल गुरुङले पनि आफ्नो नाम सूचीमा राख्न सफल भएका छन्।
विद्यालयले बिहीबार आयोजना गरेको विशेष समारोहमा ती विद्यार्थीहरूलाई बधाईसहित सम्मान गरिएको हो। विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले भने,“विद्यार्थीहरूले सफलता चुमेको यो क्षण विद्यालयका लागि सबैभन्दा गौरवपूर्ण दिन हो। शिक्षक र विद्यार्थीको मेहनत, अभिभावकको साथ र विद्यालयको समर्पणले यस्तो उत्कृष्टता सम्भव भएको हो।”
उनका अनुसार एउटै विद्यालयबाट ६ जनाले नाम निकाल्नु भनेको करीब ४ करोड बराबरको छात्रवृत्ति प्राप्त गर्नु हो, जसले प्रतिभा माविलाई प्रदेश मात्र होइन, देशकै उत्कृष्ट विद्यालयको सूचिमा पु(याएको छ। विद्यालयका प्राचार्य किरण सापकोटाले पोखरालाई अब केवल पर्यटन होइन, शिक्षाको राजधानीका रूपमा चिनाउने सपना प्रतिभा माविबाट साकार हुँदै गएको बताए।
“प्रत्येक वर्ष प्रतिभाका विद्यार्थीहरूले सुन्दर सपना पछ्याउँदै सफलता हासिल गरिरहेका छन्। मेधावी विद्यार्थी, सहयोगी अभिभावक र गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षकहरूकै योगदानले आजको गौरवपूर्ण क्षण सम्भव भएको हो,” उनले भने।
उनका अनुसार देशभरका विद्यालयमध्ये एकै वर्षमा उत्कृष्ट १०० भित्र पाँच विद्यार्थी पर्नु विद्यालयका लागि ऐतिहासिक उपलब्धि हो। कार्यक्रमका प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर प्रा। डा। अभिषेक मास्केले विद्यार्थीहरूलाई भविष्यमा देश र समाजको सेवा गर्न प्रेरित गरे।
“प्रतिभा माविले प्रमाणित गरेको छ कि गुणस्तरीय शिक्षा अब काठमाडौंमै मात्र होइन, पोखरामा पनि सम्भव छ,” उनले भने, “यहाँ सिकाइएका मूल्य र ज्ञानकै आधारमा देशका लागि उत्कृष्ट चिकित्सक उत्पादन हुने विश्वास लिएको छु।”
त्यस्तै, अभिभावक वासुदेव तिमिल्सिनाले अनुशासन नै सफलताको मूल चाबी भएको बताए। “विद्यालयले प्रदान गरेका अवसरहरूको सदुपयोग गर्न सक्नु विद्यार्थीहरूको जिम्मेवारी हो,” उनले भने।
सम्मानित विद्यार्थी समीर सुवेदीले विद्यालयले आफ्नो सोच बदलिदिएको उल्लेख गर्दै भने, “अब गुणस्तरीय शिक्षा प्राप्तिका लागि काठमाडौं जानुपर्छ भन्ने कुरा गलत भएको प्रमाणित भएको छ। मेहनत गरे भाग्य आफैं साथ दिन्छ, त्यसैले भाग्यभन्दा कर्ममा विश्वास गर्नुपर्छ।”
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता थियो। समारोहको समापन विद्यालय परिवारले उत्कृष्ट विद्यार्थीहरूको भविष्यप्रति शुभकामना व्यक्त गर्दै गरेको थियो।
