
पोखरा । विश्व मधुमेह दिवस (नोभेम्बर १४) को अवसरमा पोखरा-५ मा बिहीबार आयोजित निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ। सन् २००६ देखि संयुक्त राष्ट्रसंघले आधिकारिक मान्यता दिएको उक्त दिवसका अवसरमा सृष्टिचन्द्र विकास समाज पोखरा-५ ले सान्डेट रेफरेन्स ल्याबोरेटरी (SRL) को प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरेको हो।
शिविरमा २ सय ५ जनाको मधुमेह तथा थाइराइडसम्बन्धी रक्त परीक्षण सित्तैमा गरिएको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले मधुमेहका कारण, लक्षण, जोखिम घटाउने उपाय र उपचार प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरे।
डा. अधिकारी भने, “सकेसम्म घरको ताजा खाना खानुहोस्, कामको अनुपातअनुसार खानपान मिलाउनुहोस्, अनावश्यक तनाव नलिनुहोस्, मधुमेहले सुरुमा खासै असर नदेखाए पनि दीर्घकालमा मिर्गाैला, आँखा, शरीरका अधिकांश अंगमा गम्भीर क्षति पुर्याउन सक्छ।”
उनले जीवनशैली परिमार्जन नै मधुमेह रोकथामको सबभन्दा महत्वपूर्ण उपाय भएको बताए। हाल डायलाइसिस गराइरहेकामा करीब ६० प्रतिशत बिरामी समयमै मधुमेहप्रति हेलचेक्र्याइ गर्ने भएकै कारण जोखिममा परेको तथ्य पनि उनले प्रस्तुत गरे।
कार्यक्रममा पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले जनस्वास्थ्य सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै स्थानीयस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमले राष्ट्रिय स्वास्थ्य लक्ष्य पूरा गर्न सहयोग पुर्याउने बताए। एसआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले गण्डकी प्रदेशकै पहिलो ISO–प्रमाणित रेफरेन्स ल्याबका रूपमा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर निःशुल्क जाँच तथा स्वास्थ्य सचेतना गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए।
उनका अनुसार एसआरएलले हाल पोखराका १२ स्थानसहित गण्डकी प्रदेशका १८ ठाउँबाट सेवा दिइरहेको छ। यसैबीच, शुक्रबारको शिविर २ सय ११ औँ निःशुल्क स्वास्थ्य शिविर भएको उनले बताए। सावित्री कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाराही मावि व्यवस्थापन समिति अध्यक्ष वसन्तराज कोइराला, उपाध्यक्ष हेमराज भण्डारी, सचिव दीपक बराल लगायतले स्वास्थ्य सचेतनाको आवश्यकतामाथि जोर दिएका थिए।

