
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले “मानव कल्याणभन्दा ठूलो धर्म अरू केही हुनै सक्दैन” भन्दै मानव सेवालाई सर्वोच्च पुण्य कार्यका रूपमा व्याख्या गर्नुभएको छ। सहयोगापेक्षी सडक आश्रित मानवको जीवन उकास्न गर्ने कार्य नै वास्तविक धर्म भएको उनले बताए।
पोखरा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति द्वारा शनिबार आयोजित ‘श्री हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार’ अर्पण समारोहमा प्रदेश प्रमुख भट्टले यस्तो धारणा राखे। यस वर्षको प्रतिष्ठित पुरस्कार मानवसेवा आश्रम नेपाललाई संस्थागत रूपमा प्रदान गरिएको हो, जसले १४ वर्षदेखि सडक आश्रित मानवमुक्त नेपाल अभियानलाई निरन्तर अगाडि बढाइरहेको छ।
स्वर्गीय हेमबहादुर प्रधानले स्थापना गरेको १५ लाख रुपैयाँ अक्षयकोषबाट सञ्चालन हुने यो पुरस्कारको राशी १ लाख १ हजार रुपैयाँ रहेको छ। समितिका तर्फबाट प्रदेश प्रमुख भट्ट तथा अध्यक्ष गणेशबहादुर श्रेष्ठले मानवसेवा आश्रमका सञ्चालक राम्जी अधिकारीलाई पुरस्कार हस्तान्तरण गरे।
समारोहमा प्रदेश प्रमुख भट्टले आश्रमले मानवताको प्रवद्र्धनका लागि गरिरहेको कठोर परिश्रमको खुलेर प्रशंसा गर्दै समाजका सबै क्षेत्रले यसको अभियानलाई साथ दिनुपर्नेमा जोड दिए।। उनले पोखराको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको विन्ध्यवासिनी मन्दिर क्षेत्रको संरक्षण र विकासमा समितिको निरन्तर सक्रियता प्रशंसनीय रहेको समेत उल्लेख गरे।
साहित्यकार तीर्थ श्रेष्ठका अनुसार, यस पुरस्कारबाट यसअघिका वर्षहरूमा स्व. सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरी, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् तुलसी दिवस र स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा) जस्ता व्यक्तित्वहरू सम्मानित भइसकेका छन्।
समाजसेवा, संस्कृति र मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सम्पन्न भएको यो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको समितिले जनाएको छ।



