दशनामी समाज कास्कीको १२औँ वार्षिक साधारण सभा सम्पन्न, नेतृत्व सुदृढीकरणमा जोड

Share:

पोखरा। नेपाल दशनामी समाज जिल्ला कार्यसमिति कास्कीको १२औँ वार्षिक साधारण सभा शनिबार पोखरामा उत्साहपूर्वक सम्पन्न भएको छ। दशनामी समुदायको एकता, नेतृत्व सुदृढीकरण र संगठनको भावी योजनाबारे महत्वपूर्ण छलफल भएको कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरीले सभाको उद्घाटन गर्दै दशनामी समाजका हक-हितका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

वरिष्ठ उपाध्यक्ष गिरीले आगामी केन्द्रीय महाधिवेशनमा कास्कीकै नेतृत्व सुनिश्चित गर्न सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्दै महाधिवेशन पोखरामै गर्ने निर्णय गर्न सके नेतृत्व प्राप्ति सहज हुने बताए। त्यसैगरी समाजकी केन्द्रीय महिला उपाध्यक्ष सरस्वती गिरीले दशनामी बन्धुबीच एकता मजबुत बनाउनु अहिलेको आवश्यकता भएको बताउँदै केन्द्रीय नेतृत्व कास्कीलाई हस्तान्तरण गर्न आफू सहयोग गर्न तयार रहेको उल्लेख गरिन्।

उद्घाटन सत्रमा गण्डकी विश्वविद्यालयका डिन हिमराज गिरी, विश्व हिन्दु परिषद्का राष्ट्रिय अध्यक्ष शंकर खराल, दशनामी समाजका केन्द्रीय सल्लाहकार गोपाल गिरी, जिल्ला अध्यक्ष भरत गिरी, महिला समिति कास्कीकी अध्यक्ष सपना गिरीलगायतले दशनामी समाजको समृद्धि, संगठन विस्तार र पहिचान संरक्षणका विषयमा आफ्ना विचार राखेका थिए।

सभामा सचिव बोधराज गिरीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुनिता गिरीको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्दै साधारण सभा सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रम दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा, सचिव बोधराज गिरीको सञ्चालनमा सम्पन्न भएको थियो। समुदायको संगठनात्मक मजबुती र भावी नेतृत्व निर्धारणमा महत्वपूर्ण मानिएको यो वार्षिक साधारण सभा दशनामी समाज कास्कीका लागि उल्लेखनीय उपलब्धि बनेको छ।

कमेन्ट गर्नुहोस्
Share: