महाधिवेशनको चर्को मागसँगै काँग्रेस गण्डकीको खुला विद्रोह- नेतृत्व परिवर्तन बिना आमनिर्वाचन सम्भव छैन

Share:

पोखरा। झन्डै एक महिनादेखि जारी नेपाली काँग्रेस केन्द्रीय समिति बैठक अनिर्णयमै अड्किएको बीच गण्डकी प्रदेश कांग्रेसले चुनावअघि महाधिवेशन गर्नेसम्बन्धी कडा दबाब केन्द्रमा पठाउँदै पार्टीभित्रको असन्तुष्टि खुलेरै छताछुल्ल पारेको छ। जेनजी प्रदर्शनपछि उत्पन्न दबाब र आगामी आमनिर्वाचनको समीकरणले काँग्रेस दुई धारमा विभाजित छ । संस्थापन पक्ष चुनावपछि महाधिवेशन भने विपक्षी समूह तुरुन्त महाधिवेशन। यतिबेला गण्डकी काँग्रेसले भने एकै स्वरमा “अब ढिलाइ अस्वीकार्य” भन्दै मंसिरभित्रै १५औँ महाधिवेशन गर्न निर्देशनसहित सिफारिस केन्द्रमा पठाएको छ।

पोखरामा शनिबार बसेको भेला-प्रदेशभरका नेता तथा कार्यकर्ताको सहभागिता रहेकोले महाधिवेशन टार्दै आएको केन्द्रको भूमिकाप्रति गम्भीर नाराजगी व्यक्त गर्यो। महामन्त्री किरणबाबु श्रेष्ठले “सम्पूर्ण तहको पदावधि सकिएको, बैठक अन्यौलमा परेका कारण तल्लो संरचनामा निराशा बढेको” भन्दै अब महाधिवेशनबाट मात्र मार्ग खुल्ने टिप्पणी गरे।

‘जेनजी आन्दोलनमा काँग्रेसको पनि दोष छ, माफी माग्छौं’

गण्डकी प्रदेश काँग्रेसले निकै दुर्लभ आत्मालोचना गर्दै जेनजी आन्दोलनमा आफूहरूको कमजोरी रहेको सार्वजनिक रूपमा स्वीकार्यो। संस्थागत कमजोरी, आन्तरिक विचलन, सम्झौतामा गल्ती लगायतका विषयमा माफी माग्दै प्रदेश समितिले “अब गल्ती दोहोर्याइँदैन” भन्ने प्रतिबद्धता जनाएको छ।

यही भेलाले “काँग्रेसले लोकतन्त्र होइन, प्रजातन्त्र र धार्मिक स्वतन्त्रता पुनःस्थापित गर्नुपर्छ” भन्ने कडा निष्कर्ष निकालेको छ। प्रदेश सभापति शुक्रराज शर्माले भने, “सुधार गरिएन भने पार्टी एकातिर, जनता अर्कोतिर हुन्छन्। धार्मिक स्वतन्त्रता, प्रजातन्त्र, समाजवाद छोडेको काँग्रेस रहँदैन। बिरासतमा फर्किएनौँ भने जो सभापति आए पनि देशलाई केही दिन सक्दैन।”

शर्माले नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशन बोलाउन ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरमै निर्णय लिनुपर्ने सुझाव पनि दिए पार्टीकै केन्द्रीय नेतृत्वप्रति कडा चेतावनीसहित। अर्को स्वर “नेतृत्व बदलेर मात्र चुनावमा जान सकिन्छ । भेलामा सहभागी अधिकांश नेताहरूले एकै स्वरमा भने, नेतृत्व फेरिनुपर्छ, पार्टी रूपान्तरित हुनुपर्छ यही अवस्थामा चुनावमा गए काँग्रेस पराजय टार्न सक्दैन । ”

पूर्वमन्त्री यज्ञबहादुर थापाले चेतावनी दिँदै भने, “तल्लो तहको आवाजलाई केन्द्रले नसुने आगामी निर्वाचनमा काँग्रेसले ठूलो क्षति बेहोर्नु पर्छ।” आँधीखोला गाउँपालिका सभापति नरेन्द्र पौडेल भने, “नेतृत्व फेरिएन भने काँग्रेसको अस्तित्व रहँदैन। महाधिवेशनबाटै नयाँ खाका लिएर चुनावमा जानुपर्छ।”

नेविसंघका पूर्व उपाध्यक्ष प्रेम पौडेलले “पार्टी फुट्ने बहाना बनाएर महाधिवेशन रोक्ने खेल” बन्द गर्न नेतृत्वलाई चेतावनी दिंदै भने, “कार्यकाल सकिएपछि अधिवेशन गर्नु कार्यकर्ताको माग हो, नेतृत्वले ढिलाइ गर्नु अन्याय हो।”

गोरखा-२ (क) सभापति दीपेन्द्र गुरुङ भने, “त्यही पुरानै मान्छे ३०/४० वर्षदेखि पार्टी चलाउँदै आएका छन्। अब नयाँ अनुहारले काँग्रेस रूपान्तरण गर्छ, पुरानाले गर्दैन। वर्तमान अवस्थामा चुनावमा जाने स्थिति छैन।”

कमेन्ट गर्नुहोस्
Share: