गण्डकीमा ७५ कर्मचारीको सरुवा, सातौँदेखि दशौँ तहसम्मका कर्मचारी नयाँ जिम्मेवारीमा, को कहाँ पुगे ?

Share:

पोखरा । गण्डकी प्रदेश सरकार मातहतका कार्यालयबाट एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा भएको छ । अधिकांश कार्यालय प्रमुखहरु सरुवामा परेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ती कर्मचारीहरु सरुवा गरेको हो । कार्यालयका अनुसार विभिन्न समूहमा रहेका ७५ जना कर्मचारीको सरुवा भएको छ ।

प्रदेश प्रशासन समूहका १३ जना, स्वास्थ्य समूहका २० जना, वन तर्फ ४ जना, कृषितर्फका २७ जनाको सरुवा भएको छ । इन्जिनियरिङ तर्फका १० जनाको सरुवा भएको छ । मन्त्रिपरिषद्बाट मापदण्ड पारित भएपछि सोही आधारमा सरुवाको काम गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेशभरका कार्यालय-महाशाखा तथा निर्देशनालयहरूमा रहेका सातौँदेखि दशौँ तहसम्मका अधिकारीहरूलाई पुनःव्यवस्थित गर्दै प्रभावकारी सेवा प्रवाहलाई लक्ष्य गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। यसअघि प्रशासनिक पुनर्संरचना नसकिँदा सरुवाको म्याद पटक-पटक सारिएको थियो।

यसपटक कार्यालय खारेजी, यो एण्ड एम समीक्षा र पुनःसंरचना पश्चात् कर्मचारीहरूलाई नयाँ कार्यालय तथा जिम्मेवारीमा पठाइएको छ। कार्यालय प्रमुखहरूको सरुवा निर्णय मुख्यमन्त्री कार्यालयले लिएको छ भने, कार्यालय प्रमुखबाहेकका कर्मचारी सरुवाको जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई तोकिएको छ। नियमावलीअनुसार मन्त्रालयहरूले मंसिर १५ भित्र बाँकी सरुवा पूरा गर्नुपर्नेछ।

प्रशासन सेवा : उपसचिवदेखि अधिकृतसम्मका पदस्थापन

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय तथा सचिवालयहरूबाट टिकाराम पौडेल, लक्ष्मीभद्र वाग्ले, सालिकराम रेग्मी, हिमा पोखेल, नवराज पोखरेल, गुमादेबी शर्मा, निराजन शर्मा लगायतका उपसचिवहरू नयाँ कार्यस्थलमा पुगेका छन्।

प्रदेशभरका एकीकृत सेवा कार्यालय, प्रदेश सभा सचिवालय, खेलकुद परिषद्, विभिन्न निर्देशनालय तथा मन्त्रालयमा उनीहरूलाई नयाँ जिम्मेवारी दिइएको छ।

स्वास्थ्य क्षेत्रमा पनि ठूलो पैमानाेमा फेरबदल भएको छ। डा.. सुप्रिया पौड्याल मनाङबाट स्याङ्जा, डा.. हेमन्त बास्तोला पर्वतबाट बागलुङ, डा. प्रभात सिंह राजपुत बागलुङबाट गोरखा, डा.. सुनिलराज गौतम कास्कीमा सरुवा भएका छन्। नर्सिङ, जनस्वास्थ्य, प्रशासक तथा आयुर्वेद समूहका दर्जनौं अधिकारीहरूलाई पनि प्रदेशका अस्पताल, जनस्वास्थ्य कार्यालय तथा निर्देशनालयमा पुनःखटाइएका छन्।

वन सेवामा डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीलाई म्याग्दीबाट नवलपरासी (ब.सु.पू.) पठाइएको छ भने, बसन्त केशव अधिकारी नवलपरासीबाट म्याग्दी आइपुगेका छन्। वन अनुसन्धान, प्रशिक्षण तथा मन्त्रालयअन्तर्गतका कार्यालयहरूमा समेत वन अधिकृतहरूको व्यापक हेरफेर भएको छ।

कृषि, बागवानी, बाली विकास, पशु सेवा र मत्स्य समूहका ५० भन्दा बढी कर्मचारी नयाँ स्थानमा पदस्थापित भएका छन्। कास्की, बागलुङ, मुस्ताङ, गोरखा, तनहुँ, नवलपरासी, म्याग्दी, लमजुङ र स्याङ्जामा रहेको कृषि तथा पशु विकास कार्यालयमा वरिष्ठ अधिकृतदेखि अधिकृतसम्मको ठूलो चहलपहल देखिएको छ।

इन्जिनियरिङ सेवा : पूर्वाधार विकास कार्यालयहरूमा नयाँ टिम

सिभिल, स्यानिटरी तथा इरिगेशन समूहका इन्जिनियरहरूलाई समेत व्यापक रूपमा फेरबदल गरिएको छ। महेन्द्र बहादुर बानियाँ म्याग्दी, सोभियत खड्का लमजुङ, कृष्ण आचार्य कास्की, हरि प्रसाद तिमिल्सिना स्याङ्जा, प्रकाश लम्साल मुस्ताङमा पदस्थापित भएका हुन्। कास्कीमा चलिरहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनामा पनि नयाँ इन्जिनियरहरू खटाइएका छन्।

सरकारले यो व्यापक सरुवा-पदस्थापनलाई सेवा प्रवाह सहज बनाउने, अतिकेन्द्रिकरण तोड्ने र पुनर्संरचनापछि उत्पन्न प्रशासनिक रिक्तता पूरा गर्ने उद्देश्यसँग जोडेको छ। सरकारका अनुसार आगामी चरणमा मन्त्रालयहरूले बाँकी सरुवा प्रक्रिया समेत पूरा गर्नेछन्।

कमेन्ट गर्नुहोस्
Share: